काठमाडौं । बृहत नागरिक आन्दोलनले २०७२ सालको संविधानलाई नेपालको लोकतान्त्रिक अस्तित्व र प्रतिक्रान्ति परास्त गर्ने सबैभन्दा बलियो आधार भन्दै यसकै जगमा आगामी राजनीतिक समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
आन्दोलनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई समेत संविधानबाहिरका गतिविधिमा संलग्न वा सहयोग गरेको हो भने आफ्नो "कित्त" स्पष्ट पार्न आग्रह गरेको छ। आन्दोलनले चेतावनी दिंदै भनेको छ– “यदि मेयर बालेन प्रतिक्रान्तिकारी तत्वहरूसँग सहकार्य गर्दै नागरिकको टाउकोमाथि सेनालाई चढाउने प्रयासमा सहभागी भएका हुन् भने उनी पनि प्रतिक्रान्तिका नायकको रुपमा चिनिनेछन्।”
विज्ञप्तिमा आन्दोलनले हाल नेपाली सेनाले नागरिकविरोधी तत्वहरूसँग गरेको संवाद र आतिथ्यलाई गम्भीर त्रुटि ठहर गरेको छ। “नागरिकलाई आतंकित गर्ने, आर्थिक तथा सामाजिक क्षति पुर्याउने समूहसँग सैनिक मुख्यालयमा वार्ता गर्नु अस्वीकार्य छ,” आन्दोलनले भन्यो, “सेनाले तुरुन्त यस्तो अन्तरक्रिया बन्द गरी आफ्नो संवैधानिक भूमिकामा फर्किनुपर्छ।”
सङ्कटको समाधान राष्ट्रपतिको अभिभावकत्वमा मात्रै सम्भव हुने ठहर गर्दै आन्दोलनले भन्यो– “अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा स्थापित गर्नुपर्छ। भ्रष्टाचार र बेथितिविरुद्धको जेनजी आन्दोलन संवैधानिक बाटोबाटै अघि बढ्नुपर्छ।”
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२