काठमाडौँ । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
सो क्षेत्रमा गणकहरूको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको तर भारतले अनुमति नदिए अनुमानका आधारमा गर्नुपर्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।
‘परराष्ट्र मन्त्रालयमार्फत भारतले दिएमा फिजिकल्ली गर्छौ, त्यो गर्न नसके अन्य स्रोतमा आधारित रहेर गरेको प्रक्षेपणमा ७ देखि ८ सय जनसङ्ख्या रहेको अनुमान छ, स्याटलाइटको प्रयोग, घर गनेर र औसत निकालेर अनुमान गर्न सक्छौँ’ उनले भने
उनका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्ने विभिन्न विकल्पका रूपमा छलफल भइरहेको छ । ‘विकल्प तीन चार वटा छन्, हाम्रो भूमिमा भारतीय सेनाले हामीलाई छिर्न दिँदैन, कि सेनालाई लगेर(जनगणना) गराउने, जुन सम्भव छैन, दोस्रोमा केही नगर्ने, तेस्रो, कूटनीतिक पहल भइरहेको छ’ उनले भने ।भोलिदेखि राष्ट्रिय जनगणना सुरु हुँदै छ ।