काठमाडौँ । मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा तीन जनाको समूहले एक महिलाको ज्यान लिएको छ ।
डोरी बिक्री गरेर लाखौँ कमाउने लोभमा महिलाको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा, बानेश्वरले ललितपुर महानगरपालिका–१७, सुनाकोठीमा ४५ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा मकवानपुरका २३ वर्षीय सविन प्रजा, मोरङका २० वर्षीय सुमन मगर र मकवानपुरकी १८ वर्षीया प्रविना प्रजा माझीलाई पक्राउ गरेको हो ।
महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरुले डोरी बिक्री हुने अफवाहमा विश्वास गरेर तामाङको घाँटीमा डोरीले कसेर हत्या गरेको पाइएको छ ।
हत्यापछि मृतकको गहना र मोबाइलसमेत लुटेर फरार रहेको अवस्थामा पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए ।
प्रकाशित मिति: आइतबार, असोज २४, २०७८