बलेवा । गत भदौ १७ गतेको बाढीपहिरामा परेर परिवारका सदस्य गुमाएका ढोरपाटन नगरपालिकाका पीडितलाई गृह मन्त्रालयले राहत रकम प्रदान गरेको छ । बाढीपहिराले क्षति भएको एक महिनापछि मङ्गलबार मनत्रालयले जिल्ला प्रशासनमार्फत राहत उपलव्ध गराएको हो । बाढीपहिरामा परी मृत्यु भएका २२ र बेपत्ता १५ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले राहत रकम प्रदान गरेको हो ।
एक जना मात्रै मृतक रहेका परिवारलाई रु दुई लाख, एकभन्दा बढी मृतक वा बेपत्ता परिवारलाई प्रतिव्यक्ति÷बेपत्ता पहिलो मृतक वा बेपत्ताका परिवारलाई रु दुई लाखमा रु एक लाख थप गरेर रु तीन लाख उपलव्ध गराइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
त्यस्तै बाढीपहिराका कारण घरबास गुमाएका २० परिवारलाई तत्कालका लागि रु १५ हजारका दरले राहत वितरण गरिएको उनले बताए ।
राहत रकम लिने सबैभन्दा धेरै बालबालिका छन् । बाढीपहिरामा आफन्त गुमाएका २३ बालबालिकाले राहत पाएका छन् । उनीहरुको नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखामा खाता खोलेर रकम जम्मा गरिएको छ ।
बचतबाट आउने ब्याज रकमले उनीहरुको शिक्षामा सहयोग पुग्ने उनले बताए। पहिरामा एकभन्दा धेरै सदस्य गुमाएका सात परिवार छन् । बाढीपहिराले १२७ घर बगाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कनुसार बस्नै नमिल्ने गरी भत्केका सबैघरको सूची गृह मन्त्रालय पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७