काठमाडौं । निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सबै बैंक बन्द भएका छन् ।
निषेधाज्ञामा बैंकका कर्मचारीलाई पनि रोकिएपछि बैंकहरुले बिहीबार सेवा नदिने भएका हुन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले भने, ‘प्रहरीले हाम्रा कर्मचारीलाई दुःख दिए । त्यसैले आज बैंक नखोल्ने भएका छाैं ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पालना गराउन सडकमा खटिएका प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारी लगायत कतिपय प्रमुख कार्यकारी अधिकृतलाई समेत बाटोमै रोकिएको गुनासो समेत बैंकरहरुको छ ।
यसअघि हिजो मात्र संघले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी हरेक बैंकका काठमाडौंमा ५ वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी ८ वटा शाखा खोल्ने सहमति गरेको थियो ।
बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएकोमा आज भने बैंक खोल्न जान लागेकाहरुलाई पनि रोकिएको अध्यक्ष दाहालले बताए ।
'नेपाल राष्ट्र बैंकको निर्देशन र जिल्ला प्रशासनसँग समन्वयन गरेरै हामीले उपत्यकामा काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा १ गरेर ८ वटा शाखाबाट सेवा दिने निर्णय गरेका थियौं', दाहालले भने, 'तर आज बिहान कार्यालय जाँदा हाम्रा कर्मचारीलाई प्रहरीले बाटोमा रोकेर घर फर्किन पनि नदिने र कार्यालय जान पनि नदिने गर्यो, हाम्रा कर्मचारीलाई बाटोमै राेकेपछि हामीले सेवा बन्द गर्ने निर्णय गरेका हौं ।'
उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ।
यो अवधिमा स्वास्थ्य, बैंकिङ, खानेपानी, सरसफाइलगायत अत्यावश्यक सेवा सञ्चालन गर्ने सहमित भएको थियो। राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कारोबार चालू राख्न निर्देशन दिएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७