काठमाडौ । अघिल्लाे साता लगातार ओरालाे लागेर बन्द भएकाे नेप्से परिसूचक याे साताको पहिलो दिन आइतबार भने बढेको छ ।
आइतबार नेप्सेमा करिब २ अर्बको कारोबार भएको छ । बजार खुलेदेखि नै उत्साहित नेप्सेमा १ सय ९० कम्पनीको ४५ लाख ६ सय ३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९६ करोड २६ लाख ७८ हजारको कारोबार भएको छ ।
यससँगै नेप्से २२.४ अंकले बढेर १ हजार ४६५.१० बिन्दुमा पुगेकाे छ भने सेन्सेटिभ इन्डेक्स ३.५९ अंकले बढेर ३०७.५३ बिन्दुमा चढेको छ ।
नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकाे छ । जसमध्ये होटल, जलविद्युत र सामूहिक लगानी कोष समूहको सूचक घटेकाे छ भने बाँकी समूहको सूचक बढेकाे छ ।
नेप्सेमा आज सर्वाधिक कमाउने शीर्ष १० कम्पनीमा ५ वटा बिमा कम्पनी छन् । मिर्मिरे लघुवित्त र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य करिब १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको छ ।
यस्तै सर्वाधिक कमाउने शीर्ष १० कम्पनीमा जोशी हाइड्रोपावर, सगरमाथा इन्स्यारेन्स, सपोर्ट माइक्रोफाइनान्स, प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र रैराङ हाइड्रोपावर छन् ।
धेरै कारोबार हुने १० कम्पनीमा ४ वटा बिमा र १ निर्जीवन तथा ३ वाणिज्य बैंक छन् । आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २५ करोड ८४ लाखको कारोबार भयाे भने नेपाल पुनर्बिमा कम्पनीको १९ करोड ९४ लाख ५३ हजारको कारोबार भएको छ ।
आइतबार बेस्ट फाइनान्स कम्पनी, नेसनल हाइड्रोपावर कम्पनीलगायतका सेयरधनीले भने घाटा व्यहोरेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७