नेपालगन्ज । काेरोना महामारी संक्रमण रोकथामका लागि नेपाल–भारत जमुनाह नाका बन्द भएपछि नेपालगन्जमा व्यापारिक चहलपहल बढेको छ।
सीमावर्ती भारतीय बजार रुपैडिहाका कारण सधैँ व्यापारिक कारोवारमा मन्दी सहँदै आएका नेपालगन्जका व्यापारीले ४ महिनादेखि नेपाली उपभोक्तालाई सेवा गर्ने अवसर पाएका छन् ।
सीमा नाका बन्द भएसँगै भारतीय सामानको तस्करी नियन्त्रणमा आएपछि नेपालगन्जमा किराना, खाद्यान्न, लुगा, तयारी कपडा, सौन्दर्य प्रसाधनलगायत सबै प्रकारको स्वदेशी व्यापार राम्रो हुन थालेको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताए ।
‘कोरोना महामारीको कारण सीमा नाका बन्द भएपछि यस्तो असहज अवस्थामा पनि नेपालगन्जमा व्यापारिक चहलपहल राम्रो छ’, संघका महासचिव ओलीले भने, ‘पहिले उधारोमा सामान बेच्न पनि हारगुहार गर्नुपर्थ्याे, अहिले नगदमै कारोबार हुन थालेको छ ।’
सीमा नाका बन्द भएका कारण नेपाली उपभोक्ता यहीँ रोकिएपछि स्वाभाविक रुपमा नेपालगन्जको चहलपहल बढेको हो । उपभोक्तालाई नेपालगन्जमै रोकिने गरी व्यवसायीले सेवा प्रदान गर्नुपर्ने उनले बताए ।
सस्तो दरमा सामान पाइने विश्वासमा नेपाली उपभोक्ताको घुइँचो लाग्ने सीमावर्ती भारतीय बजार रुपैडिहा सुनसान भएको छ। सीमा नाका बन्द भएपछि रुपैडिया बजार सुनसान भएको रुपैडिहास्थित पत्रकार सन्तोष शुक्लाले जानकारी दिए ।
उनका अनुसार कोरोना महामारीका कारण सीमा बन्द भएपछि रुपैडिहा बजारको कारोवार बन्दजस्तै भएको छ। नेपाली उपभोक्ता आउन नपाउँदा व्यापार चौपट भएको भन्दै भारतीय व्यापारी आन्दोलनमा उत्रिने तयारी गरेका छन्।
राहत माग
कोरोना महामारीका कारण व्यापार व्यवसाय ठप्प भएको भन्दै र नेपालगन्ज उद्योग वाणिज्य संघले मौद्रिक नीतिमार्फत राहत प्याकेजको माग गरेको छ। कोरोना महामारीका कारण निजी क्षेत्र प्रभावित भएकाले आगामी मौद्रिक नीतिमार्फत राहत दिनुपर्ने माग गरिएको संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरीले बताए।
उनका अनुसार संघले सोही मागका विषयमा ध्यानाकर्षण गराउन आज नेपाल राष्ट्र बैंक, नेपालगन्जमार्पmत केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउँदै छ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७