काठमाडाैं । लकडाउनपछि पहिलो दिन खुलेको सेयर बजार परिसूचक नेप्से घटेको छ । कारोबार खुलेपछि करिब १ घण्टासम्म लगातार घटेको नेप्से त्यसपछि भने केही सम्हालिएको थियो ।
बजार लगातार घट्न थालेपछि लगानीकर्ताले सेयर विक्री गर्न छाडेर माग बढाउँदा बजारमा विस्तारै सुधार देखियो। तर काराेबार बन्द हुँदा नेप्सेमा १ दशमलव ०७ प्रतिशतको गिरावट आएर परिसूचक १ हजार १ सय ८८ दशमलव ८७ अंकमा कायम भएको छ ।
सोमबार ३० वटा कम्पनीको ९ लाख ७० हजार कित्ता सेयर ४ हजार ८ सय ६२ पटक खरिद बिक्री हुँदा ३४ करोड ७७ लाख ७१ हजार ८ सय ३३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
सोमबार जीवन बीमा, व्यापार, उत्पादन र अन्य समूहको उपसुचक क्रमशः २३७.६२, ३९.३४, १०२.९८ र २०.०६ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसुचक १०१.४६ अंकले घटेको छ।
सोमबार सबैभन्दा धेरै हिमालय डिस्टिलरी लिमिटेडको ३ करोड ४३ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार भएका सेयर संख्याको आधारमा भने नेपाल बैंक लिमिटेडको ६६ हजार ४ सय ७२ कित्ता सेयर किनबेच भएको छ ।
सबैभन्दा बढी नागरिक लगानी कोषका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन्।
सोमबार सेयर बजार खुलेको ४० मिनेटमा नकारात्मक सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि कारोबार बन्द गरिएको थियो। परिसूचक १ हजार १ सय ५० दशमलव ५५ अंकको बिन्दुसम्म झरेको भएपनि बिस्तारै सम्हालिएर १ हजार १ सय ८८ अंकको बिन्दुसम्म पुगेको थियो।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७