सर्लाही । समाजसेवी नरेन्द्र साहले कोरोना महामारीका कारण सीमा नाका बन्द रहेका बेला सीमा सुरक्षा गस्ती सहज बनाउनका लागि सशस्त्र प्रहरीलाई २० थान साइकल उपलब्ध गराएका छन् ।
सर्लाही क्षेत्र नंं ३ का पूर्व सांसदसमेत रहेका समाजसेवी साहले उपलब्ध गराएको साइकल आज प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
लकडाउनमा २४ सै घण्टा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई गस्ती गर्न सहज होस् भन्ने उद्देश्यले पूर्वसांसद साहले सशस्त्रलाई निःशुल्क रुपमा साइकल सहयोग गरेको बताए । साहका सहयोगीले आइतबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल गण नं १० कविलासीमा साइकल हस्तान्तरण गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठ लगायतको उपस्थितिमा सशस्त्र प्रहरीलाई पूर्व सांसद साहका सहयोगीले साइकल प्रदान गरेका हुन् ।
जिल्लाका सुरक्षा अधिकारीहरुले सीमामा सुरक्षाकर्मीको तैनाथी बढाउनु परिरहेको अवस्थामा पूर्वसांसद साहले गरेको सहयोग प्रशंसनीय रहेको बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७