बुधबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री लेखकले देशभरका कारागारमा भौतिक पूर्वाधार र बजेट अभावका कारण पर्याप्त सुधार गर्न नसकिएको प्रष्ट पारे।
उनका अनुसार, “१५–१६ कैदी अट्ने कोठामा ३५ जना बसिरहेका छन्। यस्तो भीडभाडले स्वास्थ्य, मनोवैज्ञानिक समस्या र कैदीबीच झगडासम्म हुने अवस्था पैदा हुन्छ।” उनले अधिकांश कारागारमा एउटै कोठामा १० देखि २० भन्दा बढी कैदी राखिनुपर्ने बाध्यता रहेको बताए।
रवि लामिछानेको कारागार स्थानान्तरण प्रक्रिया अघि बढेको पुष्टि गर्दै मन्त्री लेखकले सुरक्षासम्बन्धी सबै पक्षलाई विचार गरेर मात्र निर्णय हुने बताए। उनले अदालतबाट अनुमति प्राप्त भइसकेको र कैदीको निवेदन समेत आएको जानकारी दिए।
उनका अनुसार, लामिछानेलाई कारागारमा पाउनुपर्ने न्यूनतम सुविधाबाट वञ्चित गरिएको छैन। “जेल साघुँरो भए पनि उहाँलाई अलगै कोठामा राखिएको छ। विशेष सुविधा दिएको पनि छैन, उपलब्ध सुविधाबाट बञ्चित पनि गरिएको छैन,” मन्त्री लेखकको भनाइ छ।