काठमाडाैं । कोभिड–१९ को महामारीले मानव जातिको रक्षाका लागि कहालीलाग्दो संकट सिङ्गो विश्वले सामना गरिरहेको छ ।
हामी पनि त्यही लडाइँ लडिरहेका छौँ, जुन लडाइँ हामीले जित्नु पर्नेछ । यो लडाइँ सरकार, मन्त्री वा व्यक्तिले एक्ला एक्लै लडेर पार लाग्दैन, त्यो त खाली लडाइँको अभिनय मात्र हुन्छ ।
यो लडाइँमा सिङ्गो मुलुक एकताबद्ध भएर लड्नु पर्छ सरकार, पार्टी र नागरिक सबै एकीकृत र समन्वयात्मक रूपमा अघि बढ्नु, यो लडाइँ जित्नु र मानव जातिको रक्षा गर्नुको हामीसँग अर्को विकल्प छैन ।
यो समयमा सम्बन्धित अधिकारीहरुले हृदय विशाल, छाती चौडा र दिल खुल्ला बनाऔँ तर, हात लामो र मन सानो नबनाऔँ । राष्ट्रलाई एकतावद्ध बनाऔँ। नागरिलाई आश्वस्त बनाऔँ । निरन्तर अघि बढौँ, नेपाल सरकारले लिएको कदम र पहल कदमी राम्रो छ ।
थोरै कुरा सकारात्मक देखिनेबित्तिकै हौसिएर बार र सीमा नाघिहाल्ने वा थोरै कमजोरी र नागरिक आलोचना बढने बित्तिकै आत्तिइहाल्ने रुन्चे स्वर पारिहाल्नु पर्ने हाम्रो प्रकृति र संस्कार होइन ।
एकपटक पछाडि फर्केर हेरौँ, हामी कति लामो यात्रा पार गरेर, कति जंघार तरेर, कति ठूला संघर्षका दिवार पार गरेर आयौँ । के हामीलाई पुग्ने गन्तव्यको हेक्का छ ? जमिनमा टेकेर मनन गरौँ ।
महामारी विरुद्धको लडाइँ जित्ने कुरा सानो तयारीले हुँदैन, अगाडि बढौँ । नागरिको समर्थन र भरोसा अझै जीवित छ ।
यी सबै कुरा भुलेर पार्टीको आन्तरिक एकता र नेकपाको एकतालाई कमजोर पार्ने र धमिलो पानीमा माछा मार्ने कुत्सीत मनसाय कसैले नराखौँ । कलुसित आत्मा सामाजिक सञ्जालमा नछरौँ । जहाँ कमजोरी देखिन्छ निर्ममतापूर्वक सच्याऔँ यात्रा अगाडि बढाऔँ ।
यसैमा देश, जनता र पार्टीको भविष्य छ ।
(लेखक सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य हुन् ।)
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६