काठमाडौं- सातै प्रदेशका सरकारले आज आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दैछन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार संघले १५ जेठ, प्रदेशले १ असार र स्थानीय तहले १० असारमा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार आज बजेट ल्याउन लागेकाे हाे ।
संघीय सरकारले भने १५ जेठमै बजेट ल्याइसकेको छ। सात प्रदेशले कूल २ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने अनुमान गरिएको छ।
प्रदेश १ ले करिब ३६ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। चालू आावमा प्रदेश १ को बजेट ३५ अर्ब ९३ करोड थियो।
त्यस्तै, प्रदेश २ ले ३० अर्ब रुपैयाँभन्दा माथिको बजेट ल्याउने तयारी गरेको छ। यो चालू आवको बजेट २९ अर्बभन्दा बढी हो।
प्रदेश ३ सरकारले भने अन्य प्रदेशको तुलनामा ठूलो आकारको बजेट ल्याउँदैछ। चालू आवमा ३५ अर्ब ६१ अर्ब रुपैयाँको बजेट घोषणा गरेको प्रदेश ३ ले आगामी आवका लागि ४० अर्बभन्दा बढी रुपैयाँको बजेट ल्याउन लागेको हो।
गण्डकी प्रदेशले पनि यसपटक बजेटको दायरा फराकिलो बनाउने भएको छ। चालू आवमा २४ अर्ब बराबरको बजेट ल्याएको यस प्रदेशले २६ अर्बभन्दा बढीको आकारमा बजेट ल्याउँदैछ। गण्डकी प्रदेशले कृषि, पर्यटन, उर्जा र उद्योग क्षेत्रलाई प्राथमिकता दिएको छ।
प्रदेश ५ सरकारले ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ। आगामी आवको बजेटमा सडक, विद्युत, खानेपानी, सिँचाइलगायतका क्षेत्र प्रदेश ५ सरकारको प्राथमिकतामा छन्।
कर्णाली प्रदेशको बजेटको सीमा ३० अर्ब हाराहरी रहने बताइएको छ। प्राकृतिक स्रोतको उपयोग गर्ने प्राथमिकता कर्णाली प्रदेश सरकारको छ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६