काठमाडाैं : सरकारले ४८ वटा मेनपावर कम्पनीको कारोबार बन्द गरेको छ । उनीहरुले तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि वैदेशिक रोजगार विभागले कम्पनीको अनलाइन कारोबार बन्द गरेको हो ।
कारोबार बन्द भएसँगै ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै पनि कार्य गर्न नपाइने जनाएको छ । विभागमा एक हजार पाँच सय २७ मेनपावर दर्ता भएकामा अहिले एक हजार दुई सय ७२ मात्र सञ्चालनमा छन् । विभागले नियम विपरीत काम गर्ने दुई सय सात मेनपावरको दर्ता खारेजी गरिसकेको छ ।
विभागले पहिलो चरणमा गत वैशाख २३ देखि २९ गतेसम्म इजाजत प्राप्त मेनपावरको सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएकामा विवरण अध्यावधिक नगरिएकाले यही जेठ ३ गतेसम्म म्याद थप गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६