ढाका : भारतको उडिशा राज्यबाट सरेर बंगलादेश पुगेको समुद्री आँधी फानीले एक हजारभन्दा बढी घर ध्वस्त बनाएको छ ।
फानी प्रभाावित झन्डै दश लाख मानिसलाई सुरक्षित स्थलमा सारिएको बंगलादेश जल तथा मौसम विभागले जनाएको छ । भारतमा भने क्षति कम गर्न गरिएको स्थान्तान्तरणलाई सफल भएको मानिएको छ ।
आँधीले शक्ति गुमाउँदै गर्दा त्यसलाई अब केवल न्युन चाप वा डिप्रेसन मात्र भन्न थालिएको छ । तापनि त्यसले तटीय क्षेत्रका दर्जनौँ गाउँहरूलाई डुबानमा पारिदिएको छ । प्रतिघण्टा ७० किलोमिटर वेगसम्मका हुरी चलेको बताइएको छ ।
नवखली जिल्लामा केही घरहरू ध्वस्त भएको र ३० जना घाइते भएका छन् भने दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा पनि सो आँधीको प्रहारबाट जोगाउन दश लाखभन्दा धेरै मानिसलाई अन्यत्र सारिएको थियो ।
भारतको तटीय क्षेत्रमा आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको थियो । सन् १९९९ मा आएको एक शक्तिशाली आँधीले उडिसामा ३० घण्टासम्म प्रभाव पारेको थियो भने १० हजार मानिसको मृत्यु भएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६