- म्याथ्यू कारुआना गलित्च्या
केही महिनाको अन्तरालमा मैले एउटा कोठामा मेरी आमाको हत्याको अनुसन्धान गर्ने व्यक्तिसँग बस्नुपरिरहेको हुन्छ ।
हाम्रो परिवारले उनलाई पहिलो पटक छ वर्षअघि भेटेको थियो जतिखेर उनी आमालाई गिरफ्तार गर्न हाम्रो घर आएका थिए ।
मेरी आमाले एक प्रधानमन्त्रीका उम्मेदवारबारे व्यंग्यात्मक ब्लग लेखेकी थिइन् । निर्वाचन हुने दिन त्यो प्रकाशित भएपछि ती उम्मेदवारका एक समर्थकले प्रहरीमा उजुरी दिएका थिए ।
त्यसैले मध्यरातमा पक्राउ पुर्जीसहित एक गुप्तचरलाई पठाइएको थियो । उहाँको अपराधलाई गैरकानुनी अभिव्यक्ति मात्र भन्न सकिन्थ्यो ।
म विश्वको अर्को कुनामा काम गरिरहेको थिएँ । मानिसहरूले मलाई आमा राति साढे एक बजे प्रहरी हिरासतबाट छुटेको भिडिओ पठाइरहेका थिए । त्यसमा आमाले बुवाको शर्ट लगाउनुभएको थियो ।
त्यसको केही घण्टापछि उहाँ फेरि आफ्नो वेवसाइटमा आफूले झेलेको दुर्व्यवहारबारे लेख्न थाल्नुभयो । नयाँ प्रधानमन्त्रीका असुरक्षा र आफ्नै आवरणबारे ठट्टा गर्दै उहाँले लेख्नुभएको थियो ।
‘म पूरै भद्रगोलपूर्ण अवस्थामा रहेकोमा माफी चाहन्छु । तर जब एउटा हत्यारा टोली दस्ता तपाईलाई पक्रन रातमा घरमा छिर्छ...केश कोर्ने, अनुहारमा पाउडर लाउने र ढंगको कपडा छानेर लगाउने कुरा तपाईको मस्तिष्कमा आउने अन्तिम कुरा हुने रहेछ, उनले लेखेकी थिइन् ।
र, त्यसरात मेरी आमालाई पक्रने उही व्यक्ति अहिले आमाको हत्याको अनुसन्धान गर्ने भूमिकामा छन् ।
मारिएको दिन मेरी आमा डाफ्नी आफ्नो खाता पुनः सक्रिय पार्न भन्दै बैंक पुगेकी थिइन् । उनको खाता एक मन्त्रीको आग्रहमा रोक्का गरिएको थियो ।
त्यतिखेर भर्खर ५३ वर्ष लागेकी मेरी आमा आफ्नो ३० वर्षे पत्रकारिता जीवनको उत्कर्षमा थिइन् ।
उनको कारको सीटमुनि राखिएको झन्डै आधा किलोको बम दूरनियन्त्रित प्रविधिको प्रयोग गरेर विस्फोट गराइएको थियो ।
सरकार समर्थकहरूले उनको हत्यामा उत्सव मनाए । त्यसले मलाई टर्किश–आर्मेनियन पत्रिकाका सम्पादक ह्रान्ट डिन्कमाथि गरिएको गोली प्रहारको सम्झना गरायो ।
अरूले आमाको हत्याको योजना मैले बनाएको आशयको कुरा गरे ।
केहीले भने मेरी आमाले स्वेच्छाले जीवन दाउमा पारेको बताए । त्यस्तै अपमानजनक टिप्पणी सिरियामा अपहरणपश्चात् शिरोच्छेदन गरिएका अमेरिकी पत्रकार जेम्स फोलीका बारे पनि गरिएको थियो ।
डाफ्नी कारुआना गलित्च्याको हत्याकाण्ड
अक्टोबर २०१७ः खोजपत्रकार डाफ्नीको कार बम विस्फोटनमा मृत्यु
प्रधानमन्त्री जोसेफ मस्क्याटले हत्या ‘क्रुर’ भएको बताए । तर मृतकका परिवारले माल्टाका नेताहरूलाई अन्तिम संस्कारमा सहभागी हुने अनुमति दिएनन् ।
डिसेम्बर २०१७ः तीनजना मानिस पक्राउ परे । भाडाका हत्यारा प्रयोग गराइएको आशंकाबीच अभियोजन प्रक्रिया सुरु
जुलाई २०१८ः माल्टा सरकारद्वारा एउटा अनुसन्धान समिति गठन । नेतृत्व गर्ने न्यायाधीशद्वारा प्रधानमन्त्री र उनकी श्रीमतीलाई डाफ्नी कारुआना गलित्च्याले लगाएको भ्रष्टाचारको आरोपमा सफाइ
अगस्ट २०१८ः डाफ्नी कारुआना गलित्च्याका परिवारद्वारा घटनाको सार्वजनिक रूपमा अनुसन्धान हुनुपर्ने माग
किन यी हत्याराहरू चिन्नु धेरै महत्वपूर्ण छ ?
‘तथ्य र विचारको खुला प्रवाह, पत्रकारको प्रतिष्ठा र व्यावसायिकताले समाजलाई निष्पक्ष र खुला बनाउँछ,’ हामी शोकमै रहँदा भेट्न आएका युरोपेली पत्रकारहरूलाई सम्बोधन गर्दै मेरा भाइले भनेका थिए ।
‘त्यसले समाजलाई मूल्यवान् र धैर्यवान् बनाउँछ । अर्को शब्दमा भन्नुपर्दा बस्नलायक समाज बनाउँछ ।’
हाम्री आमाको हत्यापछि हामीसँग सबै खालका मानिसले सहानुभूति, समर्थन र दुःख प्रकट गरिरहेका थिए ।
एउटा साथीले भनेको कुराले मलाई अचम्ममा मात्र पारेन विचार गर्न पनि बाध्य पा¥यो । ‘असल मानिसहरू जताततै छन्, मात्र हामीले तिनलाई भेट्नुपर्छ ।’
स्वतन्त्र र खुला समाजमा बस्ने रहर, सबैलाई समान हुने कानुनी शासन, मानवाधिकारको सम्मानको अपेक्षा संसारका सबै मानिसमा हुन्छ । तर त्यस्तो आशामा चर्कोपन र चिसोपन देखिन्छ ।
रोगजस्तै हुने केही खराब मानिसहरू हामीबीच नै छन् भन्ने थाहा पाउँदासम्म कहिलेकाहीँ धेरै ढिलो भइसकेको हुन्छ ।
मेरा भाइहरू, बुवा र मैले आमाको मृत्युपछि संकल्प गर्याैं । उहाँको हत्याको न्याय, अनुसन्धानमाथि न्याय हुनेगरी यस्तो घटना फेरि दोहोरिन नदिने संकल्प गर्यौं । त्यसबाहेक अरू कुराका लागि समय पनि थिएन ।
बेलाबखत परिवारभित्र हामी सरकारी अधिकारीहरूको अकर्मण्यताबारे कुरा गथ्र्यौं ।
उनीहरूको उत्पन्न गराउने निराशा र उनीहरूको निष्कृयताबारे चुप लागेर बस्न सकिँदैनथ्यो । 
द चिल्ड्रेन अफ टर्किशका खोज पत्रकार उगुर मुम्कूले मलाई बताएअनुसार बम विस्फोटनमा आफ्ना बुवाको ज्यान गएपछि प्रहरी प्रमुखले अनुसन्धान गर्नेबारे आफ्नो निर्लज्ज टिप्पणी गरेको थियो, ‘हामीले केही गर्न सकेनौँ । हाम्रो अगाडि ईट्टाको पर्खाल छ ।’
प्रत्युत्तरम दिँदै उनीहरूकी आमाले भनेकी थिइन्, ‘त्यसो भए पूरा पर्खाल नभत्कँदासम्म एउटा र अर्को गर्दै इँट्टा झिकिरहनूस् ।’
हाम्री आमाको निधनपछि हामीहरूले गरिराखेको पनि त्यही नै हो ।
सुरुमा मेरो सोच जेजति गर्न सकिन्छ गरौं भन्ने थियो । अहिले मलाई लागेको छ, ‘लक्ष्यजतिकै महत्त्वपूर्ण कुरो त्यो प्राप्त गर्ने बाटो पनि हो ।’
हामीले स्वतन्त्र अभिव्यक्तिको सम्मानका लागि राज्यलाई आफ्ना सामान्य दायित्व पूरा गर्न भनेका छौँ, ‘हामीलाई न्याय देऊ ।’
हामी स्वतन्त्रताविरोधी रोगलाई मास्न लागि परेकाहरूलाई साथ दिइरहेका छौँ जसले विश्वलाई मानवाधिकारको रक्षा गर्न सिकाओस् ।
छानबिन
‘स्वतन्त्रता खासमा विवेकको स्वतन्त्रताबाट जन्मिन्छ,’ लेखक यामिन रसिदले माल्दिभ्सस्थित आफ्नो घरबाहिर मारिनुभन्दा पाँच दिनअघि हामीलाई भनेका थिए ।
‘मन आधारभूत रूपमा स्वतन्त्र नरहेसम्म तपाईं अन्य स्वतन्त्रताले के गर्नुहुन्छ ?’ उनको प्रश्न थियो ।
मेरी आमाझैं उनको हत्याले हाम्रा देशमा अन्य स्वतन्त्रताप्रति सम्मान नरहेको देखाउँछ ।
स्वतन्त्रताको संघर्ष हामी अर्थात् पछाडि पारिएका परिवारजन, प्रेमीप्रेमिका, हत्या गरिएका वा बन्धक बनाइएका पत्रकारका साथीहरूको मात्रै हैन यो महान् जिम्मेवारी हाम्रो काँधमा आइपरेको छ । तर हामी एक्लैले त्यसको भार थेग्न सक्दैनौँ ।
हामीलाई साथ दिन सबैतिरका राम्रा मानिसहरूको साथ चाहिन्छ । उनलाई घृणा गर्ने मानिस त उनको हत्यारा मात्र थियो ।
मेरी आमासहित यी सबै हत्यामा राज्यले जिम्मेवार मानिस खोज्न अर्थपूर्ण कदम चालेका संकेत निकै कम छन् ।
त्यसैले हामीले पहिलो इँट्टा निकालेर प्रयास सुरु गरेका छौं । माल्टाले सार्वजनिक छानविन सुरु गरेर देशको महत्त्वपूर्ण पत्रकारको हत्या हुनेगरी कहाँनिर गल्ती भयो भन्ने पत्ता लगाओस् भन्ने चाहन्छौँ ।
त्यसपछि हामी अर्को इँट्टा झिक्न लाग्नेछौँ ।
मेरी आमा त्यस्तो बलिदान नदिएर जीवितै रहेको कल्पनाले दिनदिनै मलाई सताउँछ ।
मानवाधिकारवादी संस्थाहरूले भनाइमा क्रुरतापूर्वक बन्धक बनाइएकी अजेरी पत्रकार खादिजा इस्माइलोभा भन्छिन्, ‘यदि हामी साँच्चिकै कसैलाई माया गर्छौँ भने हामी हाम्रो प्रियजन ऊ जे हो त्यही रहोस् भन्ने चाहन्छौँ । डाफ्नी त्यही थिइन्–योद्धा र नायिका ।’
मेरी आमाले कहिल्यै थाहा नपाउने कुरा के हो भने उनको मृत्युले माल्टा र त्यसबाहिर हजारौँलाई आफ्नो साहस देखाउन प्रेरित गर्यो ।
र, मलाई त्यसरी पनि सोच्न मन लाग्छ कि यस्ता घटनाले एक वा अर्को रूपबाट अन्य थुप्रै पत्रकारहरूलाई संरक्षण गरिराखेको छ । बीबीसी नेपाली
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६