बैंकक : थाईल्यान्डका राजा वाजिरालोंगकोर्नले आफ्नै अङ्गरक्षकसँग बिबाह गरेका छन् । विवाहपछि राजाले उनलाई महारानीको उपाधि प्रदान गरेका छन् ।
आगामी शनिबार औपचारिक राज्याभिषेक समारोह हुनुअघि यस्तो अप्रत्यासित घोषणा भएको हो । ६६ वर्षीय राजा महावजिरालोंगकर्न सन् २०१६ मा पिता भूमिबोल अदुल्यादेजको निधनपश्चात् थाईल्यान्डका राजा बनेका हुन् ।
उनले यसअघि पनि तीन पटक विवाह र सम्बन्धविच्छेद गरेका थिए । उनका ७ छोराछोरी रहेका छन् ।
थाईल्यान्डमा जारी गरिएको शाही विज्ञप्तिमा राजा बजिरालोंगकर्नद्वारा जनरल सुथिदा बजिरालांगकर्नलाई महारानी सुथिदामा पदोन्नति गर्ने निर्णय गरिएको जनाइएको छ ।
रानी सुथिदा लामो समयदेखि राजा बजिरालोंगकर्नसँगै छन् र धेरै वर्षदेखि उनलाई राजासँगै सार्वजनिक स्थलमा देखिने गरिएको थियो । तर दुई जनाबीचको सम्बन्धलाई यसअघि आधिकारिक रूपमा स्वीकारिएको थिएन ।
थाई टेलिभिजन च्यानलहरूमा प्रसारित वैवाहिक समारोहको दृश्यमा राजपरिवारका अन्य सदस्य एवम् दरबारका भारदार उपस्थित देखिन्छ ।
राजाले रानी सुथिदाको शिरमा पवित्र जल छर्किएको र राजदम्पतिले विवाह रजिस्टरमा हस्ताक्षर गरेको देखिन्छ ।
सन् २०१४ मा बजिरालोंगकर्नले थाई एअरवेजकी भूतपूर्व परिचारिका सुथिदालाई आफ्नो अंगरक्षक दलको उपकमान्डर नियुक्त गरेका थिए । सन् २०१६ को डिसेम्बरमा उनलाई जनरलमा बढुवा गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६