लण्डन : राष्ट्रिय सुरक्षा परिषद्को बैठकका सूचना चुहाएको भन्दै बेलायती रक्षामन्त्री गेभिन विलियम्सनलाई पदबाट बर्खास्त गरिएको छ ।
प्रधानमन्त्री थेरेसा मेले उनले सूचना चुहाएकोबारे बलिया प्रमाण फेला परेका र उनले छानबिनमा समेत असहयोग गरेकाका कारण बर्खास्त गरिएको बताएकी छन् । विलियम्सनले भने सबै आरोप अस्वीकार गरेका छन् ।
उनले आफूलाई बिनाप्रक्रिया पदबाट हटाइएको बताए । उनको स्थानमा पेनी मोर्डन्टलाई रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ ।
विपक्षी दलहरूले उनले आधिकारिक गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेकोबारे उनीविरुद्ध आपराधिक छानबिन हुनुपर्ने माग गरेका छन् । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले चिनियाँ कम्पनी ह्वावेईलाई बेलायतको फाइभ जी नेटवर्क निर्माणमा सहभागी गराउने कि नगराउने भन्ने विषयमा छलफल गरेको थियो ।
प्रधानमन्त्रीको अध्यक्षतामा भएको परिषद्को बैठकमा फाइभ जी सञ्चार प्रणालीका निम्ति हुवावेका उपकरण प्रयोग गर्न दिने कि नदिनेबारे छलफल भएको थियो ।
परिषद्को निर्णयबाट राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर पर्न सक्थ्यो । तर बैठकमा भएको छलफलको विषय सञ्चारमाध्यमबाट बाहिर आयो ।
राष्ट्रिय सुरक्षामा खतरा पुग्न सक्ने सम्भावनाबारे आएका चेतावनी माझ बेलायतले हुवावेलाई नयाँ फाइभ जी नेटवर्क सञ्चालन गर्न सीमित पहुँच दिएको समाचार द डेली टेलिग्राफमा आएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६