काठमाडौं : च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले लिभरपुलमाथि सहज जित निकालेको छ ।
बुधबारराति भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई र लुइस स्वारेजले एक गोल गरे । खेलको २६ औं मिनेटमा नै स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
बार्सिलोनाका लागि खेलको ७५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै २–० गोलको अग्रता दिलाए भने ८२ औं मिनेटमा मेस्सीले अर्को सुन्दर गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।
खेलमा बार्सिलोनाविरुद्ध लिभरपुलले केही दबाव सिर्जना गरेको थियो । करिब ५२ प्रतिशत बल पोजिसन आफ्नो पकडमा राखे पनि बार्सिलोनाविरुद्ध गोल गर्न सकेन । यो हारसँगै लिभरपुलको अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बनेको छ ।
लिभरपुलविरुद्धका दुई गोलसँगै मेस्सीले आफ्नो क्लब करिअरमा बार्सिलोनाका लागि ६०० गोल पूरा गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६