काठमाडौं : एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनः ओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ११.७० बिन्दुले घटेर एक हजार २९८.६० बिन्दुमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७४ बिन्दुले घटेर २७९.१० मा पुगेको छ ।
कारोबार रकम पनि आइतबार, सोमबारको तुलनामा घटेको छ । अर्ब रुपैयाँमाथिको कारोबार घटेर ९५ करोड रुपैयाँमा झरेको छ । कूल १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता शेयर ९५ करोड ८६ हजार ९३६ रुपैयाँमा खरीद बिक्री भए । स्टकका अनुसार कूल ११ उपसमूहको कारोबार भएकामा दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ ।
जलविद्युत् ४५.४९ र वित्त १.०३ बिन्दुले बढेको छ । बैंकिङ ९.८२, व्यापार ४.८२, होटल २४.८८, विकास बैंक २.७३, निर्जीवन बीमा २०५.३१, उत्पादन ५.३७, अन्य ६.९, लघुवित्त १८.०२ र जीवन बीमा २०१.८२ बिन्दुले घटेको छ । स्टकका अनुसार घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता एक हजार २७१ रुपैयाँमा १६ करोड सात हजार २५८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
यस्तै, नेपाल बैंक लिमिटेडको प्रतिकित्ता नौ करोड ३१ लाख सात हजार १९८ रुपैयाँमा कारोबार भई दोस्रो स्थानमा रह्यो । माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी तीन करोड ७९ लाख ११ हजार ४८९, कुमारी बैंक तीन करोड ७६ लाख ४८ हजार १७४, सानिमा माई हाइड्रोपावर तीन करोड ४० लाख एक हजार १६६, छिमेक लघुवित्त वित्तीय संस्था दुई करोड ९५ लाख सात हजार १४९ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार सानिमा माई हाइड्रोपावर कम्पनीका शेयरधनीले ९.९६ प्रतिशतले कमाए । यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.७१, यूनाइटेड मोदी ८.१८, रैराङ हाइड्रोपावर ६.५९, नेशनल हाइड्रोपावरका शेयरधनीले ५.८० प्रतिशतले कमाए तर रैराङ र नेसनल हाइड्रोपावरको शेयर भने १०० रुपैयाँभन्दा तल रहेको छ ।
यसैगरी राष्ट्रिय बीमा कम्पनी ५.८९, एसियन लाइफ इन्स्योरेन्स ४.९५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.५०, नेपाल इन्स्योरेन्स कम्पनी ३.८१, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७८ प्रतिशतले गुमाए ।