जकार्ता : दक्षिण पूर्वी एसियाली राष्ट्र इन्डोनेसियामा निर्वाचनका क्रममा बढी काम लगाउँदा कामका कारण २ सय ७० भन्दा बढी कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये अधिकांशमा थकाईसम्बन्धि समस्याबाट पीडित भएको बताइएको छ । निर्वाचन आयोगका प्रवक्ता अरीफ प्रियो सुसान्तोले निर्वाचनमा खटिएका अन्य हजार ८ सय ७८ जना कर्मचारी विरामी गरेको जानकारी दिएका छन् । गत अप्रिल १७ मा इन्डोनेसियामा निर्वाचन भएको थियो ।
निर्वाचनको पर्यवेक्षण र मतगणना गर्न करिब ७० लाख कर्मचारी खटिएका थिए । इन्डोनेसियामा हाल रहेको अत्याधिक गर्मीका समयमा कर्मचारीहरूले राति पनि काम गर्नु परेकाले धेरै कर्मचारी अस्वस्थ भएका थिए ।
इन्डोनेसियामा झन्डै २६ करोड जनसंख्या छ । धेरै जनसंख्या भएको इन्डोनेशियामा खर्च जोगाउन केन्द्रीय तथा क्षेत्रीय संसद् र राष्ट्रपति चयनका लागि एकै दिन निर्वाचन भएको थियो ।
इन्डोनेसियाको यो निर्वाचनमा १९ करोड ३० लाख योग्य मतदातामध्ये ८० प्रतिशतले ८ लाख मतदान केन्द्रमा पुगेर मतदानमा भाग लिएका थिए ।
अधिकांश पीडितहरू अस्थायी कर्मचारी छन् । जसको काममा खटिनुअघि स्वास्थ्य परीक्षण समेत गरिएको थिएन । काममा खटिएका स्थायी कर्मचारीको भने स्वास्थ्य परीक्षण गरिएको थियो ।
निर्वाचन आयोगका प्रवक्ताका अनुसार २७२ जना कर्मचारीको धेरै काम गर्नुपरेका कारण समस्या उत्पन्न भएर मृत्यु भएको हो ।
इन्डोनेसियाको निर्वाचन आयोगले प्रत्येक मृतकको परिवारलाई तीन करोड ६० लाख रुपियाँ अर्थात् २५ सय अमेरिकी डलर क्षतिपूर्ति दिने भएको निक्केई एशियन रिभ्यूले जनाएको छ । यो रकम एक कर्मचारीको एक वर्ष बराबरको न्यूनतम तलब हो ।
सरकारको एकैचोटी निर्वाचन गर्ने निर्णय व्यावहारिक नभएको र निर्वाचनका क्रममा अस्थायी कर्मचारीबाट धेरै अपेक्षा गरिएको भन्दै चर्को आलोचना भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६