–नवीन रायमाझी
आलेखको सुरुमा नै जानिफकार पाठकहरुलाई प्रष्ट पारिदिउ कि तल उल्लेखित प्रसंग र विचारहरु मेरो नितान्त व्यक्तिगत हो र यी विचारहरुले म भन्दा बाहेक अरु कसैलाई प्रतिनिधित्व गर्दैन । यदि कसैलाई चित्त बुझेमा म आफुलाई निकै भाग्यशाली सम्झने छु र कसैलाई चित्त नबुझेमा पंक्तिकार अल्प ज्ञानी भएकोले क्षमा दिनुहुनेछ भन्ने आशा गरेको छु ।
पंक्तिकार नेपालमा हुँदा कोहि विदेशबाट आएको व्यक्तिहरुलाई उताको कोसँग सम्पर्क छ भनेर सोध्दा यदि मेरो नेपालीहरुसँग खासै सम्पर्क छैन भनेर भन्यो भने निकै रिस उठ्थ्यो र त्यो व्यक्ति कति घमण्डी भएको हो भन्ने विचार आउथ्यो, साथै सक्नेलाई बोलेरै र नसक्नेलाई मनमनै गाली पनि गरिन्थ्यो र आफू नेपाली भएकोले नेपाली समुदायसँग सम्पर्कमा रहनु पर्ने निःशुल्क सल्लाह दिन पनि पछि पारिदिन थियो । अहिले आफैँ आएर बोध भयो कि यो विदेशमा जति सकिन्छ कम सम्पर्क गर्नुपर्ने रहेछ नेपाली समुदायसँग, किनभने आफ्नो देशबाट हजारौँ हजार माइल टाढा अर्काको देशमा आएर पनि हामी नेपालीहरु आफ्नो उन्नती कसरी हुन्छ भनेर सोच राख्ने नभई अर्काको अधोगति कसरी हुन्छ भन्ने सोचेर समय र कसै कसैले त श्रम र पैसासम्म पनि बर्बाद पारिरहेका छन । पंक्तिकार पनि यसमा अपवाद नहोला तर यत्रो सामाजिक र भौतिक विकास भएको देशमा आएर पनि हामी नेपालीहरुको मानसिकता परापूर्वकालको जस्तै छ ।
देशमा रहुन्जेल नेता र सरकारलाई चोर र डाँका भनेर गाली गर्ने, नेताहरुले देश बिगारे भन्ने तर त्यही नेता याँहा आए भने आफ्नो काम छोडेर नेताको पछि दौडने किन हो ? मैले बुझ्न सकेको छैन । आठदेखि दश घण्टासम्म पैताला फतक्क गल्ने गरि उभिएर काम गरेको बिर्सेर आफ्नो मेहनतको पैसाले ती कथित चोर नेताहरुलाई भात किन खान दिने ? त्यस्तै जातीय, क्षेत्रीय र विचारको आधारमा फलानो संघ र ढिस्कानो संगठन खोलेर एउटा–एउटा पद लिएर बस्नुको औचित्य के ? यदि राजनीति नै गर्ने भए नेपाल गएर राजनीति गर्नु पर्यो । होइन अमेरिकामै राजनीति गर्ने हो भने त्यस्ता रंग न ढंगका संघसंगठन खोलेर कहिले र कसरी राजनीति गर्ने ? सबैभन्दा हाँसो उठ्दो त के छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी योजनाहरुको बारेमा फलानो संघका अध्यक्षले यस्तो भने र तिलानो संगठनका महासचिवले उस्तो भने भनेर नेपाल र अमेरिकाबाटै खल्ती–खल्तीमा वर्षे च्याउ झैँ खुलेका अनलाइन न्युज पोर्टलले लेखिरहेका हुन्छन । राष्ट्रपति ट्रम्पको आगामी योजना हरुको बारेमा थाहा हुने हैसियत भएका कुनै नेपालीहरु अमेरिकामा होलान जस्तो मलाई लाग्दैन र उनीहरुले गर्ने भनेको व्यक्तिगत अन्दाज मात्र हो, यस्ता अन्दाज गर्नको लागि कुनै कथित पदको आवश्यकता पर्दैन, कोठा, चोटा वा चिया पसल जता पनि अन्दाज गर्दै हिड्न पाइन्छ ।
त्यस्तै चिनेको वा नचिनेको कुनै नेपाली भेट्ने बितिकै हप्ताको कति घण्टा काम गर्ने ? पैसा कति हुन्छ ? कागज अर्थात् बैधानिक कागज छ कि छैन ? नेपालमा घर बनाइयो कि बनाईएन ? जस्ता हावादारी र अर्थहिन प्रश्नहरु सोधेर हैरान पार्छन । मलाई लाग्छ यस्ता प्रश्नहरुको जवाफ दिएर बस्नुभन्दा त्यो मान्छेबाट टाढै बस्नु जाति हुन्छ । आफ्नो भित्री कुरा र भविष्यको योजना कसैले पनि आफू र आफ्ना केही विश्वासपात्रमा मात्र सीमित गरेको हुन्छ र त्यो उचित पनि हो । बाटोमा भेट्ने बितिकै खर्रर आफ्नो सबै कुरा कसैले कसैलाई भन्दैन र त्यस्ता प्रश्नहरु सोधेर अरुको दृष्टिमा गिर्ने काम बाहेक अरु हुँदैन भन्ने सामान्य ज्ञानसम्म नभएकाहरुसँग गन्थन गर्नु भनेको नदुखेको कपाल डोरी लगाएर दुखाउनु मात्र हो ।
यसको साथै विशेष गरेर महिलाहरुको पहिरनलाई लिएर उसको चरित्रको बारेमा टिका टिप्पणी गर्नेहरुको जमात पनि छ । आफ्नो घरका महिलाहरुको बारेमा केहि सुन्न नचाहने तर अरुको घरका छोरी चेलीको चरित्रमा प्रश्न खडा गरेर यस्ती र उस्ती भनेर दिन काट्नेहरुको पनि कमि छैन । प्रथमतः चरित्र भन्ने कुरा महिलाको मात्र होइन पुरुषको पनि हुन्छ र यदि पतन हुने हो भने दुबैको हुनुपर्ने हो । दोस्रो अरुको चरित्रको बारेमा औँला उठाउने अधिकार कसैको छैन र कसैलाई “क्यारेक्टर सर्टिफिकेट’’ दिने अधिकार ती महानुभावहरुलाई कसले दियो ? त्यो अचम्म छ ।
अन्तमा, सबै भन्दा अचम्मलाग्दो विषय त एनआरएनहरुले नेपालमा जलश्रोत लगायतका क्षेत्रमा लगानी गर्ने भन्ने छ । विदेशमा र अमेरिकामा अधिकांश नेपालीहरु याँहाको स्तरमा निकै सानो काम गरेर जिवीका चलाउनेहरु छन् र यो पंक्तिकार पनि कुनै अपवाद होइन । दुई चार जना राम्रै कमाई भएका पनि छन् तर उनीहरुलाई नेपालमा लगानी गर्ने कुनै इच्छा पनि छैन र बालुवामा पानी हालेको जस्तो नेपालमा लगानी गर्नुको कुनै औचित्य पनि छैन । एउटा सानो पसल खोल्दा त सबै राजनैतिक पार्टीको मजदुर इकाई खोल्नुपर्ने बाध्यता रहेको नेपालमा पैसा भए पनि किन लगानी गर्ने र त्यो लगानीको सुरक्षा कसले गर्ने ? सरकार भएको वा नभएको कुनै टुंगो नै नभएको देशमा लगानी गर्नुभन्दा त्यो पैसालाई पोको पारेर आगो लगाउनु नै ठीक हुन्छ जस्ता विचार राख्नेहरु पनि छन । समग्रमा भन्दा भारतीय र पाकिस्तानीको किराना पसलमा घण्टा हानेर (अर्थात् जति घण्टा काम गर्यो त्यति नै पैसा पाइने) नेपालमा लगानी गर्नु भनेको दिवा स्वप्न मात्र हो । यो संसारमा जो जस्तो छ त्यस्तै देख्छ र त्यस्तैसँग भेट पनि हुन्छ, माहुरी खोज्दै गएर फुल मै बस्छ र झिंगा फुल छोडेर फोहरमा गएर बस्छ भनेको जस्तै सायद म झिंगा नै हुँ कि फोहर मात्र देख्ने ?
प्रकाशित मिति: सोमबार, चैत १४, २०७३