कोलम्बो : श्रीलंकाको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा आइतबार भएका शृंखलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या २ सय ९० पुगेको छ ।
मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५ सय जना घाइते भएका छन् ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २४ जनालाई पक्राउ गरेको छ । शोकमा डुबेको श्रीलंकामा एक दशकपछि भएको यस्तो शक्तिशाली बिस्फोटमा संलग्न रहेकाहरुको बारेमा जानकारी सार्वजनिक गरेको छैन । र कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएका छैनन् ।
राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु सांग्रिला, सिनमन ग्रान्ड र किंग्सबरीमा पनि बिस्फोट भएका थिए ।
मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो । बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट जनधनको ठूलो क्षति भएको बताएका छन् ।
बौद्धमार्गी बहुल श्रीलंकामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६