काठमाडौं । गत १४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरको पुलवामामा आत्मघाती बम विस्फोटमा परी ४० भन्दा बढी भारतीय सुरक्षाकर्मी मारिएको घटनापछि भारतले पाकिस्तानको बालाकोटमा हमला ग¥यो । बालाकोट हमलामा सयौं जैस–ए–मोहम्मदका नेता कार्यकर्ता मारिएको भारतीय दाबी रहँदै आएको छ ।
भारतीय सञ्चारमाध्यम र सत्तारुढ भाजपाका नेताले समेत यो हमलापछि पाकिस्तान आतंकवादीको देश भन्दै यो हमलाको बचाउ गरे । तर हालै भारतकै एउटा पत्रिकामा पाकिस्तानमाथि गरिएको हमलामा कोही नमारिएको स्वीकार गरिएको छ ।
यो स्वीकारोक्ति अरु कसैले गरेको नभएर भारतकै विदेशमन्त्री सुष्मा स्वराजले गरेकी हुन् । दार्जिलिङबाट छापिने नेपाली भाषाको पत्रिका हिमालय दर्पणमा कुनै पाकिस्तानी नमारिएको स्वराजले बताएको समाचार छापिएको छ ।
‘फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा आतंकवादी क्याम्पमा हवाई हमला अवधिमा कुनै पाकिस्तानी सैनिक वा नागरिकको मृत्यु भएको थिएन्,’ भाजपा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै स्वराजले भनिन्, ‘भारतीय सेनालाई अप्रेशनका लागि खुल्ला छुट दिइएको थियो कि यस अवधीमा कुनै पनि पाकिस्तानी नागरिकको मृत्यु नहोस, यहाँसम्म की कुनै पाकिस्तानी सैनिकलाई पनि नोक्सान पु¥याउनु हुँदैन् ।’
भाजपाकी वरिष्ठ नेता समेत रहेकी स्वराजले भनिन्, ‘जैश–ए–मोहमदलाई लक्ष्य बनाउन सैनिकलाई भनिएको थियो । जो पुलवामा हमलामा दोषी छन् ।’
भारतीय सेनाले पाकिस्तानको बालाकोटमा आंतकवादी शिविर भन्दै २६ फेब्रुअरीमा हमला गरेको थियो । थत अप्रिल १० मा पाकिस्तानी सरकारले हमला भएको भनिएको क्षेत्रमा अन्तर्राष्ट्रिय मिडियासमेतलाई अवलोकन गराएको थिो ।
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६