प्योङयाङ : उत्तर कोरियाले परबाट नियन्त्रण गर्न सकिने नयाँ किसिमको अस्त्रको परीक्षण गरेको दाबी गरेको छ ।
उत्तर कोरियाली सञ्चारमाध्यमले ‘ट्याक्टिकल गाइडिड वेपन’ भनिएको सो अस्त्रका विषयमा थप कुनै जानकारी नदिएपनि त्यसमा ‘शक्तिशाली युद्धशीर्ष’ जडान भएको उल्लेख गरिएको छ ।
गत फेब्रुअरीमा भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको शिखरवार्ता असफल भएपछि उत्तर कोरिया पुनः अस्त्र परीक्षणमा लागेको हो ।
उत्तर कोरियाले यसअघि पनि यस्तै किसिमको अस्त्र परीक्षण गरेको दाबी गरेको थियो । तर पर्यवेक्षकहरूले त्यसलाई अमेरिकामाथि दबाव सिर्जना गर्ने प्रयासका रूपमा अर्थ्याएका थिए ।
गत साता किमले अमेरिका राष्ट्रपति ट्रम्पले वार्ताका लागि ‘सही नियत’ लिएर आए थप वार्ता गर्न सकिने बताएका थिए । केसीएनएले परीक्षणको नेता किमले नै निरीक्षण गरेको उल्लेख गरेको छ ।
केसीएनएका अनुसार सो अस्त्रमा उडानलाई मार्ग निर्देशन गर्ने विशिष्ट विधि छ । परीक्षणपछि प्रतिक्रिया दिँदै किमले यो ‘जनसेनाको युद्ध शक्ति बढाउन धेरै महत्त्वपूर्ण’ उपलब्धि भएको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६