काठमाडौं : सरकारले आजदेखि विदेशबाट फर्किएका युवाको सीप परीक्षण गर्ने भएको छ । विदेशमा विभिन्न सीप आर्जन गरेर फर्केका युवाको सीप प्रमाणीकरण गरी आन्तरिक श्रम बजारमा रोजगारीका अवसर प्राप्त गर्ने तथा स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्देश्यले सीप परीक्षण गर्न लागिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।
आजदेखि वैशाख ७ गतेसम्म विभिन्न चरणमा सातै प्रदेशमा सीप परीक्षण गरिने छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतको राष्ट्रिय सीप विकास समितिले वैदेशिक रोजगारीमा गई विभिन्न सीप आर्जन गरी फर्केका व्यक्तिको सीप परीक्षण गरी प्रमाणपत्र उपलब्ध गराउने छ । सीप परीक्षणमा सफल हुनेलाई सम्बन्धित सीपको तह–१ उत्तीर्ण बराबरको प्रमाणपत्र दिइने छ ।
बोर्डले गत मंसिर ११ गतेदेखि विभिन्न २० प्रकारका सीपको निःशुल्क परीक्षणका लागि आवेदन माग गरेको थियो । विभिन्न प्रकारका सीप प्रमाणीकरणका लागि ४६५ युवाले आवेदन दिएका थिए । सीप परीक्षणका सम्बन्धमा जानकारी दिन बोर्डले गत चैत २० देखि २६ गतेसम्म विभिन्न चरणमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ ।
बिल्डिङ पेन्टर, फर्निचर मेकर, जुनियर प्लम्बर, स्काप फोल्डर, सटरिङ कार्पेन्ट्री स्टोन लेयर मेसन (डकर्मी), विल्डिङ इलेक्ट्रिसियन, इन्डस्ट्रियल इलेक्ट्रिसियन, असिष्टेन्स ब्युटिसियन, असिष्टेन्स वेटर, केयर गिभर, कमि तेस्रो, हाउस किपिङ क्लिनर, आर्क वेल्डर, आल्मुनियम फेब्रिकेटर, रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन जुनियर मेकानिक्स, सेक्युरिटी गार्ड, टेलरिङ, एक्साभेटर अपरेटर र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण गरिने छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६