भारतमा १७ औं लोकसभा निर्वाचन सुरु भएका बेला निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचनको प्रचारप्रसार जारी रहँदा विभिन्न विवादित घटनाहरु बाहिर आएका छन् ।
सो क्रममा निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टी प्रमुख मायावती र माथि कारबाही गरेको छ । आयोगले दुवै जनालाई निर्वाचन प्रचारका लागि सीमित समयका लागि प्रतिबन्ध लगाएको हो । आयोगका अनुसार योगीले तीन दिन र मायावतीले दुई दिन निर्वाचन प्रचार गर्न पाउने छैनन् ।
मंगलबार (आज) बिहान ६ बजेबाट लागू हुनेगरी आयोगले उनीहरुमाथि प्रतिबन्ध लगाएको हो । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा दुवैजना कारबाहीमा परेका हुन् । निर्वाचन आयोगलाई सर्वोच्चले कुनै कारबाही नगरेको बताइरहँदा आयोगको यो निर्णय आएको हो । योगी र मायावती दुवैको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरित भएको पाइएको हो । मायावतीले ७ अप्रिलमा सहारनपुरमा आफ्नो सम्बोधनका क्रममा मुस्लिम समुदायलाई आफ्नो भोट बाँढिन नदिन आग्रह गरेकी थिइन् । सो क्षेत्रबाट हाजी फैजल–उर–रहमान बहुजन समाज पार्टी र गठबन्धनका उम्मेदवार हुन् । यस्तै योगी आदित्यनाथले मेरठको र्यालीमा ‘अली’ र ‘बजरंगबली’ को टिप्पणी गरेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६