खार्तुम : राष्ट्रपति ओमार अल–बसीरलाई पदच्युत गर्ने सैनिक ‘कु’ को नेतृत्व गरेका सुडानको सैन्य परिषद्का प्रमुखले ७२ घन्टाभित्रै पद छाड्नु परेको छ ।
राष्ट्रपति विरुद्ध प्रदर्शन जारी रहेका बेला सैन्य ‘कु’ को नेतृत्व रक्षामन्त्री अवाद इब्न औफले गरेका थिए । तर उनले सरकारी टेलिभिजनमार्फत् आफ्नो निर्णय घोषणा गर्दै लेफ्टिनेन्ट जेनरल अब्देल फतह अब्देलरहमान बुर्हानलाई आफ्नो उत्तराधिकारी बनाएका छन् ।
बसीरलाई सत्ताबाट हटाएको भएपनि सत्ता हत्याउनेहरु पनि बसीरकै निकट रहेको भन्दै प्रदर्शनकारीले निरन्तर प्रदर्शन जारी राखेपछि उनको यस्तो घोषणा आएको हो । चुनावपछि दुई वर्षसम्म सत्तामा रहने सेनाले जनाएको छ ।
गत डिसेम्बरमा महंगीको विरोधमा सुरु भएको प्रदर्शन चर्किदै जाँदा बसीरको शासनकाल अन्त्य हुन पुगेको हो । डार्फर द्वन्द्वका बेला इब्न औफ सैनिक गुप्तचर निकायका प्रमुख थिए । उनलाई अमेरिकाले सन् २००७ मा प्रतिबन्ध लगाएको थियो ।
औफ हटेको खबर पाएपछि प्रदर्शनकारीले राजधानी खार्तुममा खुसियाली मनाएका छन् । प्रदर्शनको नेतृत्व गरिरहेको द सुडान प्रोफेसनल्स एसोशिएशनले पद छाड्ने इब्न औफको निर्णय प्रदर्शनकारीको ‘जित’ भएको बताएको छ ।
यद्यपि उनीहरुले आफूहरु घर फर्किनुअघि नागरिक सरकार गठन हुनुपर्ने माग राखेका छन् । अहिले सत्ताको नेतृत्व पाएका व्यक्ति पनि एक उच्च सैनिक अधिकारी हुन् । यद्यपि उनको छवि अन्य सैनिक जनरलको भन्दा स्वच्छ मानिन्छ ।
प्रदर्शनकारीका धाराणा बुझ्नका लागि उनले उनीहरुलाई भेट्ने इच्छा व्यक्त गरेका छन् । डार्फर द्वन्द्वका बेला युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतले बशीरलाई दोषी ठहर गरेको छ ।
बसीरलाई बिहीबार पदच्युत गरियो । तर शुक्रबार पनित प्रदर्शनकारीले सडक छाडेनन् र सेनाको मुख्यालयबाहिर प्रदर्शन जारी राखे ।
सैनिक परिषदका प्रवक्ताले सत्ता नचाहेको र सुडानको भविष्य जनताले निर्धारण गर्ने बताए । तर शान्ति सुव्यवस्था कायम गर्न अस्तव्यस्तता सहेर नबस्ने बतायो ।
परिषदले अन्र्तराष्ट्रिय फौजदारी अदालतको अभियोगको सामना गर्ना लागि सुपुर्दगी नगर्ने जनाएको छ ।
सैनिक परिषदले संविधानलाई निलम्बन गर्दै तीन महिनाका लागि संकटकाल घोषणा गरेको छ । प्रदर्शनका क्रममा गोली लागेर १६ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६