२९ वर्षीया एक कम्प्युटर वैज्ञानिक ब्ल्याकहोलको पहिलो तस्बिर सार्वजनिक भएसँगै चर्चामा छिन् । उनी यसकारण चर्चा छिन कि उनले यस प्रकारको कम्प्युटर प्रोग्राम विकास गर्नमा अग्रणी भूमिका खेलेका कारण नै ब्ल्याकहोलका तस्बिर सम्भव भएका हुन् । ती महिला हुन् केटी बोमन ।
धुलो र ग्याँसको आभा मण्डल देखिएको पृथ्वीबाट ५ सय मिलियन ट्रिलियन किलोमिटरको दूरीमा रहेको ब्ल्याकहोलको तस्बिर पहिलो पटक बुधबार सार्वजनिक भएका थिए ।
बोमनका लागि सो तस्बिरको निर्माण यसअधि असम्भव सोचिएको कार्य सम्पन्न गर्ने प्रयासको सार्थक परिणाम थियो । सफलताको त्यो क्षणमा बोमनलाई आफ्नो कम्प्युटरमा त्यो तस्बिर हेर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

उनले ‘ब्ल्याकहोलको पहिलो तस्बिर निर्माण हुँदै गर्दा अविश्वसनीय नजर लगाउँदै’ भन्ने भावमा फेसबुकमा लेखेकी छन् । उनले मासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीमा विद्यार्थी छँदा तीन वर्षअघि त्यो प्रोग्राम बनाउन सुरु गरेकी थिइन् ।
त्यहाँ बोमनले कम्प्युटर विज्ञान र आर्टिफिसियल इन्टिलिजेन्स प्रयोगशाला, हार्भर्ड स्मिथसोनियन सेन्टर फर अस्ट्रोफिजिक्स र हेस्ट्याक अवर्जर्भेटरीको सहयोगमा सो प्रोग्राम विकास गरेकी थिइन् ।
आठ दूरबीनको सञ्जाल इभेन्ट हराइजन टेलिस्कोपले खिचेको सो तस्बिर बोमनको प्रोग्रामले एकैस्थानमा मिसाएको थियो ।
‘जब हामीले पहिलो पटक त्यो तस्बिर देख्यौँ हामीलाई विश्वास नै लागेन । त्यो निकै दर्शनीय थियो,’ उनले बीबीसीसँग भनिन्,‘हामी मौसमका हिसाबले भाग्यशाली भयौँ... हामी धेरै कुराले भाग्यमानी भयौँ ।’
तस्बिर सार्वजनिक भएको केही घण्टामा बोमनको विश्वभरी चर्चा सुरु भएको थियो । क्लालिफोर्निया इन्स्टिट्युट अफ टेक्नोलोजीमा सहायक प्राध्यापक रहेकी बोमनले भने त्यो तस्बिर आफ्नो टोलीका कारण सम्भव भएको बताइन् ।
त्यो तस्बिर अन्टार्टिकादेखि चिलीसम्मका दूरबीनको सहायतामा २०० भन्दा बढी वैज्ञानिकहरूको कार्यले सम्भव भएको थियो ।

ब्ल्याकहोलको तस्बिर कसरी बन्यो ?
सामान्य भाषामा भन्ने हो भने बोमनको प्रोग्रामले दूरबीनबाट प्राप्त तथ्यांकलाई तस्बिरमा परिवर्तन ग¥यो ।
गणित र कम्प्युटर विज्ञानको भाषामा उनको टोलीले अल्गोरिदम बनाएकी थिइन् । जुन कुनै समस्या समाधानका निम्ति बनाइएको प्रक्रिया वा नियमहरूको समूह हो ।
पृथ्वीमा रहेको कुनै पनि दूरबीनले एक्लैले ब्ल्याकहोलको तस्बिर खिच्न सक्दैन । त्यसैले आठवटा टेलिस्कोपबाट त्यो खिचिएको थियो ।
दूरबीनले खिचेका तस्बिरहरू सयौं हार्डडिक्समा राखेर अमेरिकाको बोस्टन र जर्मनीको बोनमा पुर्याइएको थियो । ती स्थानहरूमा बोमनको अल्गोरिदम प्रयोग गरेर ती तथ्यांकहरूबाट एउटा तस्बिर बनाइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५