काबुल : अफगानिस्तानमा लामो समयदेखि संघर्षरत तालिबान विद्रोही समूहले अमेरिकासँग वार्ता प्रक्रियामा रहेपनि सशस्त्र संघर्षलाई अझ तीव्र बनाउने घोषणा गरेको छ ।
अंग्रेजी समेत पाँच भाषामा प्रकाशित लामो वक्तव्यमा तालिबान विद्रोहीले अफगानिस्तानमा विदेशी फौज रहेसम्म संघर्षलाई निरन्तरता दिइने भनिएको छ ।
हुन त, तालिबानले यस्तो घोषणा हरेक वर्ष गरिरहेको छ । हिउँदका कठिन दिनहरुमा पनि तालिबानी आक्रमण रोकिएका छैनन् । तालिबानले दिनहुँजसो अफगान सुरक्षाफौज र अफगानिस्तानमा तैनाथ नेटो फौजमाथि आक्रमण गरिरहेका छन् ।
तालिबानी आक्रमणबाट सुरक्षाकर्मी, लडाकू र सर्वसाधारणको मृत्यु हुनेक्रम घट्नुको साटो पछिल्ला वर्षहरुमा अझ बढेको छ । पछिल्लो समय, तालिबानले बाघ्रामस्थित अमेरिकी हवाई अखाडामा गत सोमबार गरेको आत्मघाती आक्रमणमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो ।
विभिन्न अध्ययनले अफगानिस्तानको आधाभन्दा बढी भूभागमा तालिबान समूहले कब्जा गरेको देखाएका छन् । मूलतः अफगानिस्तानमा अमेरिकी अतिक्रमणका विरुद्ध विगत १७ वर्षदेखि तालिबान र इस्लामिक स्टेट्स समूहले सशस्त्र संघर्ष गरिरहेको छ ।
शुक्रबारको घोषणामा तालिबानले आफ्ना लडाकूहरुलाई पूर्ण इमान्दारी र तालिबान कमान्ड संरचना बमोजिम आक्रामक कारबाही अघि बढाउन निर्देशन दिइएको छ । घोषणामा नागरिक हताहत रोक्न भरमग्दुर प्रयास गर्न लडाकूहरुलाई निर्देश दिइएको छ ।
यसै वर्षको शुरुमा प्रकाशित राष्ट्रसंघको वार्षिक प्रतिवेदन अनुसार गत वर्ष सन् २०१८ मा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको छ । नागरिकको हत्या हुनुमा मुख्यतः तालिबानी लडाकू र अरु विद्रोहीहरु दोषी देखिएका छन् ।
अमेरिकी हवाई आक्रमणबाट पनि ठूलो संख्यामा नागरिक हताहत भएको पाइएको छ । अमेरिकी हवाई आक्रमणहरु खासगरी प्रत्यक्ष लडाइँमा संलग्न अफगानी फौजको सहयोगका लागि हुने गरेका छन् ।
कतारमा अर्को सातादेखि अफगानी समूहहरुबीच वार्ता शुरु हुँदैछ । कतारमा तालिबानको कार्यालय समेत रहेको छ ।
यता काबुलमा, सरकार विरोधी पक्षसँग शान्ति वार्ता गर्न एक वर्ष अघि स्थापना गरिएको अफगान उच्च शान्ति परिषदले तालिबानको पछिल्लो वक्तव्यप्रति निन्दा गरेको छ । अफगान युद्धको शान्तिपूर्ण समाधानमा विद्रोहीहरु इमान्दार रहेकामा यस वक्तव्यले शंका उब्जाएको परिषदले जनाएको छ ।
परिषदका उपप्रमुख अट्टा–उ–रहमान सलेमले भने, ‘उनीहरुले युद्ध नै चाहेको देखिन्छ । उनीहरुका हरेक दिनका क्रियाकलापले यसैलाई पुष्टी गरिरहेको छ ।’
अमेरिकी अफगान शान्तिदूत जाल्मे खलिलजादले तालिबानसँग युद्धबिराम गर्न र काबुल सरकारसँग वार्ताका लागि आग्रह गरिरहेका छन् । तर विद्रोहीहरुले यी दुबै प्रस्ताव अस्वीकार गरेका छन् ।
तालिबानले अफगान सरकारसँग वार्ता नगर्ने बताउँदै आएको छ । कतारमा वार्ताका लागि आउने अफगान टोलीलाई तालिबानले सरकारी प्रतिनिधि नभई सर्वसाधारण अफगान नागरिक ठान्ने गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५