क्वेटा । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटास्थित हजारगञ्ज इलाकामा शक्तिशाली विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरीले बिहान करिब ८ बजे हजारगञ्जको तरकारी बजारमा सो विस्फोट भएको जनाएको छ । बजारमा रहेको प्रहरी भ्यानलाई लक्षित गरी विस्फोट गराएको पाइएको छ ।
विस्फोटपछि सुरक्षाकर्मीले सो क्षेत्रलाई घेरा हालेका छन् भने बम डिस्पोजल टोली पनि सो क्षेत्रमा पठाइएको छ ।
यस विस्फोटमा केही घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको छ । हजारगञ्ज हजारा शिया मुस्लिम समुदायको बसोबास रहेको क्षेत्र हो । त्यसकारण यो विस्फोटमा मारिएका र घाइते भएकाहरु पनि सोही समुदायका मानिस हुन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५