भारतमा लोकसभा निर्वाचन बिहीबारबाट सुरु हुँदै छ । चुनावको प्रचार प्रसार र शीर्ष नेताको उम्मेदवारीको चर्चा चलिरहेको छ । तर नेपालीभाषीको धेरै बसोबास रहेको दार्जिलिङको चर्चा निकै कम हुने गरेको छ । गोर्खाल्यान्डको माग गर्दै विभिन्न समयमा ठूला आन्दोलन भएकाले पनि नेपाली र नेपालीभाषीको ध्यान भने दार्जिलिङतिर सोझिएको छ ।
पछिल्ला दश वर्षसम्म भारतीय जनता पार्टीको हातमा रहेको दार्जिलिङ लोकसभा सिट फेरि भाजपाले नै लैजाला या पहिलो पटक तृणमूल कांग्रेसले जितेर इतिहास लेखाउला ? चासो सर्वत्र छ ।
भाजपा र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाबीच त्यहाँ चुनावी गठबन्धन छ । तृणमूल कांग्रेस पनि बलियो रहेकाले यस पटक यसैले चुनाव जित्छ भनेर किटान गर्नचाहिँ गाह्रो छ । यस पटक यसअघि भन्दा धेरै उम्मेदवार चुनावी मैदानमा छन् ।
त्यसो त दार्जिलिङ लोकसभा सिटको इतिहास गज्जबको छ । दार्जिलिङको सत्तामा रहेको दलले जुन राष्ट्रिय दललाई समर्थन गर्छ, त्यही दलले चुनाव जित्दै आएको इतिहास छ । सत्ताको समर्थनमा कोलकाता वा दिल्लीले चुनाव जित्दै आए पनि अहिलेसम्म दार्जिलिङ आफैँले भने लगातार हार्दै आइरहेको त्यहाँका मतदाताको बुझाइ देखिन्छ ।
यो क्षेत्रबाट सबैभन्दा बढी भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले छ पटक, कांग्रेसले पाँच पटक, भारतीय जनता पार्टीले दुई पटक, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा र स्वतन्त्रले एक एक पटक चुनाव जितेका छन् ।
तर कुनै पनि दलले दार्जिलिङका लागि काम नगरेको मतदाताको गुनासो रहने गरेको छ । अझ रमाइलो कुरा त के छ भने यहाँबाट चुनाव जित्ने हरेकले अलग गोर्खाल्यान्डका लागि पहल गर्ने आश्वासन दिने गरेका छन् ।
यस पटक दार्जिलिङका क्षेत्रीय पार्टी नै मिलेर उम्मेदवार उठाउने तयारी गरे पनि सबैले आआफ्नै उम्मेदवार लिएर साझा उम्मेदवारको खोजी गरेपछि त्यो सम्भव भएन । त्यसैले यस पटक पनि दार्जिलिङले दिल्ली र कोलकाताको विकल्प पाएन ।
पछिल्ला दुई लोकसभा निर्वाचनमा जीत हासिल गरेको भाजपाले यस पटक मणिपुरका राजु विष्टलाई उम्मेदवार बनाएको छ । दार्जिलिङबाहिरका उम्मेदवार भएको र गोर्खा जनमुक्ति मोर्चा र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको आफ्नै समस्याका कारण भाजपाले नै जित्छ भन्ने अवस्था छैन ।
गोजमुमो समर्थित तृणमूल कांग्रेसका उम्मेदवार अमर सिंह राई पनि बलिया उम्मेदवार छन् । यद्यपि, दार्जिलिङको राजनीति अहिले पनि तरल नै छ अर्थात् मतदाताको हातमा एउटा झण्डा र मनमा अर्कै पार्टीको झण्डा रहेका कारण चुनावी परिणाम चमत्कारपूर्ण हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५