नयाँ दिल्ली : भारत निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा छातीमा संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन् ।
छातीमा संक्रमण भएपछि अस्पताल भर्ना भएका लामाको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।
उनका सहयोगी तेन्जिन ताक्लाले दलाई लामालाई केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमान्चल प्रदेशको धर्मशालाबाट दिल्ली लगिएको जानकारी दिएका छन् ।
चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारत पुगेका थिए । उनलाई नोबेल शान्ति पुरस्कार समेत दिइएको थियो । यसको चीनले भने कडा विरोध गर्दै आएको छ ।
चीनले सन् १९५० मा तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको थियो । चीनले दलाई लामालाई पृथकतावादी नेताको रुपमा लिने गर्छ । तिब्बती बौद्धमतमा दलाई लामा पुनर्जन्म लिएका अवतार हुन् ।
दलाई लामाको उत्तराधिकारी को हुने भन्ने विषय अनिश्चित तथा विवादास्पद मानिन्छ । चीनले आफूसँग दलाई लामाको उत्तराधिकारी छान्ने अधिकार भएको दाबी गर्ने गरेको छ । गत महिना दलाई लामाले चीनद्वारा छानिने व्यक्ति तिब्बतीहरूलाई मान्य नहुने अडान दोर्होयाएका थिए ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५