तेल अभिभ : इजरायलमा मंगलबार भएको संसदीय निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याउने देखिएको छ ।
मतदान गरेर बाहिर निस्किएका मतदातासँग गरिएको सर्वेक्षणका आधारमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याउने देखिएको हो ।
निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका निकटतम प्रतिस्पर्धी बेन्नी ग्यान्टस् दुवैले आफूले जित्ने दाबी गरेका छन् ।
पूर्व सेनाप्रमुख ग्यान्टस्को मध्यपमार्गी ब्लू एन्ड ह्वाइट गठबन्धनले ३६ देखि ३७ सिट जित्ने देखिएको छ भने प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले ३३ देखि ३६ स्थानमा जित निकाल्न सक्ने सर्वेक्षणहरूले देखाएका छन् ।
दुईवटा मतसर्वेक्षणहरूले नेतान्याहुसँग समर्थित दक्षिणपन्थी पार्टीहरू मिलेर सत्ता गठबन्धन गर्ने सम्भावना देखाएको छ । यद्यपि कतिपयले ति पार्टीहरु ग्यान्टस्को पार्टीसँग सत्तामा सहभागी हुन सक्ने अनुमान पनि गरिएको छ ।
‘हामीले जित्यौँ ! इजरेली जनताले आफ्नो राय राखे !’ ब्लु एन्ड ह्वाइटले एउटा विज्ञप्तिमा भनेको छ, ‘यो चुनावमा स्पष्ट जित र स्पष्ट हार कसैको पनि भएको छैन ।’
नेतान्याहुले ट्वीटमा भनेका छन्, ‘लिकुडले नेतृत्व गरेको दक्षिणपन्थी गठबन्धनले निर्णायक जित हासिल गरेको छ । म इजरायलका जनतालाई विश्वासको मत दिएकोमा धन्यवाद दिन्छु । म दक्षिणपन्थी सरकार बनाउनका हाम्रा स्वाभाविक साझेदारसँग काम आजै बेलुका काम सुरु गर्छु ।’
इजरेलको १२० सदस्यीय संसद्मा अहिलेसम्म कुनै पनि पार्टीले बहुमत ल्याएको छैन र सधैं गठबन्धनको सरकार बन्ने गरेको छ ।
निर्वाचनको राति मतदानपछिको मतसर्वेक्षणको नतिजा सार्वजनिक हुनासाथ बेन्नी ग्यान्ट्सका समर्थकहरू उत्सव मनाउन थालेका छन् । उनीहरूले इजरायलमा मध्यपन्थीहरूको सरकार बन्ने विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५