युवा सिपाही धेरै सावधानी र ढिलो गतिमा मानव कंकालले भरिएको दशकौं पुरानो फोहोरको थुप्रो सफा गर्छन् । हड्डीसँगै कपडाका टुक्रा र जुत्ता चप्पल पनि भेटिन्छन् ।
यी सिपाही पश्चिमी बेलारुसमा एउटा निर्माण स्थलमा अतीतमा भएको नरसंहारको इतिहासको त्यो पर्दा पल्टाउने कोशिस गरिरहेका छन्, जसका बारेमा धेरै कम मात्र जानकारी छ ।
पाश इलाकाको एक अपार्टमेन्ट ब्लकमा भवन बनाउनका लागि जग खन्ने क्रममा एउटा सामूहिक चिहान फेला पर्यो । त्यसैबेलादेखि खास प्रशिक्षित सिपाहीहरुले अहिलेसम्म एक हजार यहुदीका अस्थिपञ्जर निकालिसकेका छन् । यी यहुदीहरुलाई नाजी जर्मनीको कब्जाका क्रममा ब्रेस्ट सहरमा हत्या गरिएको थियो ।
यो काममा लागेका बेलारुसका सिपाही दमित्री केमिन्स्की भन्छन्, ‘टाउकोमा गोलीले पारेको प्वाल प्रष्ट रुपमा देखिन्छ ।’ उनको टिम खास गरी सोभियत सिपाहीको कंकाल खोज्ने काम गर्छ । यहाँ साना बच्चाहरुको कपाल पनि प्राप्त भएको छ र महिलाका यस्ता कंकाल पनि भेटिएका छन्, जो गर्भवती थिए ।
‘खाल्डोमा लगेर गोली हानियो’
दमित्रीका अनुसार ‘मानिसहरुको टाउकोको पछाडिबाट गोली हानिएको छ । सबै शवको अनुहार घोप्टिएका थिए । नाजीहरुले मानिसहरुको चिहान खने र पछाडिबाट गोली हाने, उनीहरु यसमा खसे । फेरि गोली हाने र फेरि यसमै खसे ।
दोस्रो विश्वयुद्ध पहिले ब्रेस्ट सहरको कुल जनसंख्या ५० हजार थियो, जसमा आधा यहुदी थिए । सन् १९४१ को जुनमा जर्मनीले कब्जा गरेको केही दिनपछि नै ५ हजारलाई मारेका थिए ।
जो बाँचेका थिए, उनीहरुलाई बन्द कक्षमा सीमित पारिएको थियो । उनीहरु काडेतारले घेरिएको सिटी सेन्टरको भवनमा थिए ।
अक्टोबर १९४२ मा उनीहरु सबैलाई मार्न आदेश आयो । उनीहरुलाई सामान बोक्ने गाडीमा राखेर १ सय किलोमिटर टाढा जंगलमा लगियो । ब्रोनाया गोरामा हजारौं मानिसलाई एउटा ठूलो खाल्डोको छेउमा लगियो र गोली हानियो ।
सोभियतको मौनतामा प्रश्न
मिखाइल केपलान भन्छन्, ‘जब मेरा आमाबुवा फर्किए, तबसम्म सहर आधा खाली भइसकेको थियो ।’ जब जर्मन सैनिक सहरमा कब्जा गरिरहेका थिए, त्यतिबेला उनका आमाबाबु सहरबाहिर गएकाले बाँच्न सफल भए । मिखाइल त्यो फोटो हेर्छन्, जुन फोटोमा रहेका उनका काकाकाकी र काकाका छोरा मारिएका थिए ।
उनी यो सम्झदै भन्छन्, ‘यसका बारेमा मेरा बुवाले एक शब्द पनि बताउनु भएन... यो धेरै दर्दनाक थियो । तर आफ्ना सन्तान सम्झिएर मेरी हजुरआमा रोइरहनुहुन्थ्यो ।’
उनी भन्छन्, ‘यहाँ के भएको थियो भन्ने सबैलाई थाहा थियो । तर कोही पनि खुलेर बोल्दैनथिए । जर्मनले हामीहरुलाई जानीबुझी नै समाप्त पार्यो । सोभियत संघ चुपचाप हेरिरह्यो । ब्रेस्टमा जुन संग्रहालय छ, त्यो पनि एउटा बन्द कोठामा छ, जुन यहुदी समुदायले बनाए र उनीहरु नै यसको हेरविचार गर्छन् ।

एकै दिनमा १७,८९३ यहुदी मारिएका थिए
यसमा ति बाँच्न सफल यहुदीको कहानी छ, जो महिनौंसम्म घरको छतमा बनेको सानो स्थान र पर्खालको पछि लुकेर ज्यान बचाएका थिए । त्यहाँ एउटा सहरका यहुदीको तथ्यांक रहेको रजिस्टर पनि छ, जुन जर्मनहरुले राख्थे । यसमा १५ अक्टोबर १९४२ को एउटा रेकर्ड छ, जसमा १७ हजार ८९३ यहुदी सहरमा रहेको लेखिएको थियो । त्यसको अर्को दिनको रेकर्डमा यो संख्या शून्य थियो ।
यस समुदायका नेता एफिम बेसिन भन्छन्, ‘यस प्रकारले बस्तीका आम मानिसलाई पनि मारियो ।’
पाशमा निर्माण गर्न लागिएको अपार्टमेन्टको निर्माण स्थलमा केही शब भेटिन्छ भन्ने शंका थियो । तर यति धेरै शब फेला पर्छन् भन्ने अनुमान गरिएको थिएन ।
उनी भन्छन्, ‘यसबाट हामी आफ्नो इतिहासबारे कति थोरै जानकार छौं भन्ने थाहा हुन्छ ।’ वर्षौदेखि एफिम यस्ता जानकारीहरु जुटाइरहेका छन् । तर यसमा साक्षीको बयान धेरै कम छ ।
यहुदीको यातनालाई बिर्साइयो
बेलारुका यहुदीको भविष्य जर्मनहरुको कब्जाका क्रममा भएको महाविनाशसँग सधैंका लागि जोडियो । एफिम सम्झन्छन्, ‘अधिकारीहरु बिर्सिएको छैन मात्रै भन्छन् । तर यहुदीमाथि जे भयो, त्यसबारे मौनता साधियो । युद्ध स्मारक केबल सोभियत नागरिकप्रति समर्पित छ ।’
‘यो बहुत दुःखद छ,’ एफिम भन्छन्, ‘नाजीको विरोध गरेका कारण उनीहरु मारिएका हैनन् । उनीहरु यहुदी भएकै कारणले मारिए ।’ सहर घुम्दै उनी यहुदीको जीवनको छाप रहेका स्थान देखाउँछन् ।
यसमा यहुदी पूजास्थल र गोलाकार सिनेमा हल पनि रहेका छन्, जुन सोभियतकालमा निर्माण भएका हुन् । यसभित्र रहेको ढुंगाको पर्खाल अहिले पनि त्यतिकै बलियो छ, जसलाई भत्काउन कठिन छ । यहुदीको चिहानलाई नाजीले तहसनहस पारिदिएका थिए । जसलाई सोभियत संघले मर्मत गराएको थियो ।

धेरै कम जानकारी
चिहानलाई माटोले पुरेर त्यस स्थानमा फुटबल रंगशाला बनाइएको थियो । यहाँ बनेको संग्रहालय समाजद्वारा संचालित छ । यसकारण एउटा सरकारी संग्रहालयको माग भइरहेको छ र रुख रोप्ने कुरा भइरहेको छ । जसबाट यो पाश कोलोनीको बगैंचा बन्नेछ ।
सहरको सांस्कृतिक विभागका अल्ला कोन्डक भन्छन्, ‘केही मानिसहरु शबको माथि घर बनाइरहेको बताइरहेका छन् । तर हामी कंकाल भेटुन्जेल काम गर्न रोक्नेछौं ।’ यी हड्डीहरुलाई चिहानमा ल्याइने छ, त्यो भन्दा बढी केही गर्न आवश्यक छैन ।
उनी भन्छन्, यहाँ हरेक क्षेत्रमा चिहान भेटिन्छ । जर्मन सिपाहीले जहाँ मानिसलाई मार्थे, त्यही गाड्ने गर्दथे । तर यस्तो लाग्छ कि धेरै कम मानिसलाई यहुदीमाथि भएको यस्तो बर्बर घटनाको जानकारी छ ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५