काठमाडाैं : नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले सडक विभागका नवनियुक्त महानिर्देशक केशव कुमार शर्मालाई भेटी निर्माण व्यवसायका विद्यमान समस्याका बारेमा अवगत गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण व्यवसायका समस्या र समाधानका उपायबारे महानिर्देशक शर्माको ध्यानाकर्षण गराएको हो ।विभिन्न तहका सरकारबीचको समन्वय अभावका कारण निर्माण व्यवसायीहरुको भुक्तानी रोकिएकोतर्फ महानिर्देशक शर्माको ध्यानाकर्षण गराउँदै महासंघ प्रतिनिधिमण्डलले भुक्तानीका लागि आवश्यक पहल थालिदिन आग्रह गरेको छ ।
विनाशकारी भूकम्प, आन्दोलन तथा नाकाबन्दीका कारण इन्धन लगायत निर्माण सामाग्रीको अभावमा राष्ट्रभर संचालित सम्पूर्ण निर्माण आयोजनाहरु प्रभावित भएको जानकारी महासंघले गराएको छ । यसै सन्दर्भमा प्रधानमन्त्रीले आयोजनाको प्रगति हेरेर पुन: एक पटक म्याद १ वर्ष थप गरिदिने प्रतिवद्धता व्यक्त गर्नु भए अनुसार २०७६ चैत्र मसान्त सम्मको लागि विना हर्जना म्याद थपको व्यवस्था मिलाई दिन महासंघले अनुरोध गरेको छ । डिजाइन, वातावरण मूल्याङ्कन, मुआब्जा विवाद भएको कारणले समेत आयोजनाको कार्य समयमा सम्पन्न नहुने समस्यालाई निराकरण गर्न उचित व्यवस्थापन गरी म्याद थप गर्न यथाशिघ्र निर्देशनका लागि पनि महासंघले आग्रह गरेको छ ।
व्यवसायी अनुकुल हुने गरी आवश्यक इन्सुरेन्सको व्यवस्थाका लागि सम्बन्धीत् निकायमा पहल गरिदिन महासंघले अनुरोध गरेको छ । जवाफमा महानिर्देशक शर्माले कानूनी दायरामा रही व्यवसायीहरुका सबै खाले समस्या समाधान गर्न पहल गर्ने बताए । महासंघ प्रतिनिधिमण्डले शर्माको सफल कार्यकालको लागि शुभकामना दिँदै मायाको चिनो प्रदान गरेको छ ।
भेटमा महासंघका उपाध्यक्ष आङ दार्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल, उप–महासचिव नीतिगत टंक प्रसाद चौलागाईं, कार्यसमिति सदस्य अशोक के.सी. निर्माण व्यवसायीहरु गेल्जे लामा, शिव शक्ति भट्टराई, मोहन कार्की, पिताम्वर बडु, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५