नयाँ दिल्ली : भारतमा यही ११ अप्रिलबाट लोकसभा निर्वाचन सुरु हुँदैछ । चुनावलाई लक्षित गर्दै कांग्रेसले मंगलबार बाचाले भरिएको चुनावी घोषणापत्र जारी गरेको छ । जसमा गरिएका कुनै पनि बाचा झुठमा आधारित नभएको अध्यक्ष राहुल गान्धीले दाबी गरे ।
उनले गरिबको खातामा हरेक वर्ष ७२ हजार र पाँच वर्षमा ३ लाख ६० हजार रुपैयाँ जम्मा गर्ने बताए । उनले नारा दिए– ‘गरिबी पर वार ७२ हजार’ र भने यो हाम्रो पहिलो कदम न्यायको कदम हो ।
घोषणापत्रमा २०२० सम्म सबै खाली सरकारी पदमा पदपूर्ति गर्ने बाचा गरे । उनले देशमा २२ लाख सरकारी पद खाली रहेको र कांग्रेसले छिट्टै पदपूर्तिको कोशिस गर्ने बताए ।
उनको अर्को बाचा ग्रामीण युवालाई रोजगार दिने रहेको छ । उनले आफू नेतृत्वमा सरकार बनेमा १० लाख युवालाई गाउँ पञ्चायतमा रोजगारी दिने बताए । यस्तै तीन वर्षका लागि युवालाई बिजनेश खोल्नका लागि कुनै स्वीकृति लिनुपर्नेछैन । गान्धीले किसानलाई अलग बजेट ल्याउने बाचा पनि गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५