समाजिक सञ्जाल गुगल प्लस बन्द भएको छ । संसारको सबैभन्दा मूल्यवान ब्रान्डले खोलेको सामाजिक सञ्जाल भएर पनि गुगल प्लस असफल साबित भएपछि मंगलबार बिहानदेखि बन्द गरिएको हो ।
सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन गुगल प्लस खोलिएको थियो । तर गुगल प्लसलाई भिडिओका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले यसलाई रुचाएनन् ।
सन् २०११ को अन्त्यतिरै गुगल प्लसका आलोचकहरूले यसको ‘मृत्यु’ को घोषणा गरिसकेका थिए । तर सन् २०१८ मा यसका तथ्यांक चोरी भएको सार्वजनिक भएपछि मात्रै यसलाई बन्द गर्ने निर्णय गरेको थियो ।
सामाजिक सञ्जालमा जस्तो लेख्न र तस्बिरहरू सेअर गर्न मिल्ने सुविधा यसमा थियो । तर गुगलले यसलाई ‘सामाजिक तह’को रूपमा परिभाषित गरेको थियो ।
यसमा साथीहरूलाई ‘सर्कल’ को आधारमा समूह विभाजन गर्न मिल्ने र ‘ह्याङ्गआउट’ भनिने समूहगत भिडिओ कल गर्न मिल्ने यसका मुख्य सुविधाहरू थिए ।
सार्वजनिक गरिएको केही हप्तामै यसमा लाखौं प्रयोगकर्ताहरू जोडिएका थिए । तर तीमध्ये एकदमै कम प्रयोगकर्ताले मात्रै यसलाई प्रयोग गरेका थिए ।
गुगल प्लसमा उपनाम प्रयोग गर्न नपाइने कडा नीति थियो र कसैले आफ्नो नाम प्रयोग नगरेमा जीमेल समेत निलम्बन हुने व्यवस्था थियो । गुगल प्लेस्टोरमा मोबाइल एपहरूमा प्रतिक्रिया व्यक्त गर्न पनि गुगल प्लस खाता अनिवार्य थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५