लिस्वन : पोर्चुगलमा एक २६ वर्षीया महिला खेलाडीले बिहीबार बच्चालाई जन्म दिएकी छन् र लगत्तै उनको मृत्यु भएको छ । डिसेम्बरदेखि नै महिला ब्रेन डेड अर्थात मानसिक रुपमा मृत थिइन् ।
अन्तर्राष्ट्रिय खेलाडी रहेकी क्याथरिना सेकेरालाई डिसेम्बर महिनामा उच्च श्वासप्रश्वासको समस्या देखिएको थियो र लगत्तै उनलाई ‘ब्रेन डेड’ घोषित गरिएको थियो । ३२ साताको गर्भपछि नै उनले बच्चालाई जन्म दिएकी छन् ।
जसको नाम स्लभाडोर राखिएको छ । स्लभाडोर यतिबेला नियोनेटल अस्पतालको निगरानीमा छन् । पोर्चुगलमा ब्रेन डेड महिलाले बच्चालाई जन्म दिएको यो दोस्रो घटना हो ।
सेकेरा प्रतिभाशाली खेलाडी थिइन् । उनले देशको प्रतिनिधित्व गर्दै खेलेपनि सानै उमेरदेखि दमबाट पीडित थिइन् । सेकेरालाइ उच्च दम हुँदा उनी १९ हप्ताकी गर्भवती थिइन् ।
उच्च दमले विरामी परेको केही दिनमा नै उनी कोमामा गइन् र चिकित्सकले ब्रेन डेड घोषित गरेका थिए । पेटको बच्चा जिउँदै रहोस् भन्नका लागि उनलाई ५६ दिनसम्म भेन्टिलेटरमा राखिएको थियो ।
शुक्रबार ३२ हप्ता पुग्ने भएकाले उनलाई सोही दिन सुत्केरी गराउने तयारी गरिएको भएपनि बिग्रदो अवस्थाका कारण बिहीबार नै बच्चा निकालिएको चिकित्सकले जनाएका छन् ।
अस्पतालको आचारसंहिता समितिका प्रमुख फिलिप अल्मेडाले बच्चालाई आमाको गर्भमा जिवित राख्नका लागि परिवारसँग सल्लाह गरेर नै निर्णय लिइएको जानकारी दिएका छन् ।
बच्चाका बाबु कुनै पनि मूल्यमा बच्चा जीवित रहोस् भन्ने चाहन्थे । बच्चाको तौल १ केजी ७ सय ग्राम रहेको छ र आगामी तीन सातासम्म अस्पतालमा नै राखेर उपचार गरिने छ ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५