काठमाडौँ । केही दिनयता देशभरको तापक्रम क्रमशः बढ्दो क्रममा छ । पानी नपरेका कारण तापक्रम कम नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार जनावरी चिसो महिना हो । उनका अनुसार सामान्यतया जनवरीपछि तापक्रम क्रमशः बढ्ने हुन्छ । फेब्रुअरीको दोस्रो सातासम्म तापक्रम उकालो लागिसकेको हुन्छ ।
उनले भनिन्, ‘जनावरी कोल्डेस्ट (अत्यधिक चिसो) महिना हो । जनवरीपछि तापक्रम क्रमिक रूपमा बढ्दै जान्छ ।’
यसपालि पानी नपरेका कारण अहिले नै तुलनात्मक रूपमा तातो भएको उनको भनाइ छ । अब तापक्रम क्रमिक रूपमा बढ्दै जाने उनले बताइन् ।
विगतका वर्षहरूमा जस्तो यसपालि पानी पर्ने सम्भावना नदेखिएको उनले उल्लेख गरिन् । उनका अनुसार अबका तीन दिनसम्म देशभर पानी पर्ने सम्भावना कम छ ।
आज बिहान पौने ९ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । सोही समयमा हिजो बिहान काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो ।
गएको पुस २३ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्ष आजसम्मकै कम २.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
प्रकाशित मिति: बिहिबार, माघ १२, २०७९, ११:०७:००