काठमाडौं : कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको २५औं केन्द्रीय कार्यसमितिका लागि भोलि शनिवार चुनाव हुँदै छ । देशैभरिबाट प्रत्यक्ष चुनावबाट प्रतिनिधि छान्ने बारको चुनावमा लोकतान्त्रिक र प्रगतिशील समूहको मुख्य प्रतिस्पर्धा हुँदै छ ।
अध्यक्षका लागि आठ जना चुनावी मैदानमा छन् । मुख्यगरी नेपाली कांग्रेस निकट मानिने लोकतान्त्रिक कानुन व्यवसायीको तर्फबाट पूर्वमहासचिव एवं अधिवक्ता सुनील पोखरेल र नेकपा निकट मानिने प्रगतिशील पेसागत कानुन व्यवसायीको तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्र श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । मुख्य प्रतिस्पर्धी मानिएका दुवै अध्यक्षले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
अध्यक्षसहित २५ पदका लागि ६४ जना उम्मेदवार चुनावी मैदानमा छन् । लोकतान्त्रिक, प्रगतिशील र विभिन्न साना समूह, स्वतन्त्रबाटसमेत उम्मेदवारी दिएका हुन् । चुनावमा देशभरबाट १० हजार तीन सय १३ जना वरिष्ठ अधिवक्ता, अधिवक्ताले मतदान गर्दै छन् । देशभर भएको मतदानबाट प्राप्त मत काठमाडौंमा ल्याएर गणना गरिने बताइएको छ ।
अध्यक्षमा पदमा अन्य समूह, स्वन्त्रबाट गजेन्द्रबहादुर थापा, कृष्णप्रसाद शर्मा, पुण्यप्रसाद खतिवडा, तोयनाथ ढुंगाना, लोकेन्द्रध्वज खाँड, रामप्रसाद प्रजापति, विराटकुमार न्यौपानेले उम्मेदवारी दिएका छन् । नेपाल बार एसोसिएसनको केन्द्रीय चुनावमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, खुला, महिला सदस्य, समावेशी पदमा मतदान हुने प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले बताए ।
प्रत्येक प्रदेशबाट उपाध्यक्ष र खुला क्षेत्रबाट एकजना अनिवार्य महिला गरी आठ जना उपाध्यक्ष पदमा निर्वाचित हुने छन् । उपाध्यक्षका लागि सात वटै प्रदेशबाट प्रगतिशील र लोकतान्त्रिक समूहबाट १७ जनाको उम्मेदवारी परेको छ ।
बारको केन्द्रीय समितिमा महिला, भूगोल, दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाति गरी समावेशी पद छुट्याइएको छ ।
बारका प्रतिस्पर्धी अध्यक्षका उम्मेदवार सुनील पोखरेलले बारको राष्ट्रिय चरित्र, बौद्धिक, प्राज्ञिक बनाइने बताए । वकीलले राजनीति गर्न सक्ने तर, बार एसोसिएसनलाई तटस्थ बनाउनुपर्ने उनले बताए । मुलुकमा राजनीतिक संकट आउँदा मात्र बारले राजनीति गरेको उनले बताए । न्यायपालिका उत्तरदायी बनाउने, युवाको आशाको केन्द्र बनाउने पोखरेलको दाबी छ ।
अर्का प्रतिस्पर्धी प्रगतिशील कानुन व्यवसायीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार चण्डेश्वर श्रेष्ठले आफूले जित्ने दाबी गरे । यसअघिको नेतृत्वले काम गर्न नसकेको आरोप लगाउँदै आफूले जितेपछि राजनीतिक भन्दा व्यावसायिक रूपमा काम गर्ने बताए । बार निष्पक्ष हुन नसक्दा न्यायपालिका कमजोर भएको उनको आरोप छ ।
यस अघिल्लो चुनावमा तत्कालीन नेकपा एमाले निकट र माओवादी निकट कानुन व्यवसायीबीच अध्यक्षमा आलोपालो उम्मेदवारी दिने लिखित सहमति भएको थियो । यसपटक वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई अध्यक्षमा उम्मेदवारी दिने भनिए पनि चण्डेश्वर श्रेष्ठलाई दिइएको थियो । आफूले टिकट नपाउँदा रमनले सार्वजनिक रूपमै विरोध गर्दै आएका छन् । रमन श्रेष्ठलाई समर्थन गर्ने समूहले चण्डेश्वरलाई समर्थन नगर्दा प्रगतिशील समुहलाई घाटा पुग्ने देखिन्छ । बारका महासचिव समेत भइसकेका पोखरेलले बढी मत ल्याउन सक्ने कानुन व्यवसायीले आँकलन गरेका छन् ।
यसअघि लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्ष शेरबहादुर केसीसहितको समूहले जितेको थियो । प्रगतिशील समूहले बारले खासै काम गर्न नसकेको टिप्पणी गर्दै आएको छ । यसपटक भने मिश्रित नतिजा आउने मतदाताको आँकलन छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५