दोस्रो विश्वयुद्ध सकिए पनि संसारबाट युद्धको कहालीलाग्दो तस्बिर मेटिइसकेको छैन । सिरियादेखि लिएर इजरायल प्यालेस्टाइन, इराक, अफगानिस्तान सधैभरि आन्तरिक गृहयुद्धमा अल्झिरहेका छन । युद्धको हावाबाट दक्षिण एसिया पनि अछूतो छैन । भारत–पाकिस्तान तनाव, नेपालमा माओवादी गृहयुद्ध, म्यानमानरमा रोहिङ्या काण्ड आदिले पछिल्लो दुई दशक दक्षिण एसियालाई तनावमय पारेको छ ।
उत्तर आधुनिक युद्धले लाखौँ मानिसहरूको ज्यान लिइसकेको छ । हजारौं मानिस घरबारविहीन भएका छन् । शरणार्थीहरूको संख्या लाखौंमा बढिरहेको छ । शहरहरू ध्वस्त भइसकेका छन् । देशका सिमानाहरू खुम्चिएका छन् । पृथकतावादी युद्धहरूले नयाँ देशहरू विश्व भूगोलको रूपरेखामा देखापरेका छन् । संसार आन्तरिक कलह र बाह्य हस्तक्षेपको घिनलाग्दो चक्रब्युहमा अल्झिएको छ ।
तर आधुनिक युद्धहरू सिमानमा मात्र लडिएका छैनन् । बन्दुक र बमको सहारामा मात्र सीमित भएका छैनन् युद्ध । सोसल मिडियाको आगमनसँगै युद्धको रूपरेखा परिवर्तन भएको छ । भारत–पाक तनावले पछिल्ला केही महिना संसारको ध्यान खिच्यो । भारत पाकिस्तान विभाजनसँगै निम्तिएको काश्मिर युद्धले पछिल्ला महिना दक्षिण एसिया तनावमय रह्यो । हुन त भारत र पाकिस्तानबीच सन् १९४७, १९६५, १९७१ र १९९९ मा प्रमुख युद्ध भइसकेका छन् । हजारौं मानिसले ज्यान गुमाइसकेका छन् । भारत पाकिस्तान तनाव कहिल्यै नसकिने, कहिल्यै नरोकिने एउटा दुःस्वप्नजस्तो भइसकेको छ ।
फेब्रुअरी १४, २०१९ मा जम्मु कश्मिरको पुलवामामा भारतीय पुलिस फोर्सको गाडीमा आत्मघाती हमला हुँदा ४० जना सुरक्षा दलको मृत्यु भएको थियो । उक्त हमलाको जिम्मेवारी आतंकवादी संगठन जैस–ए–मोहम्मदले लियो । जैस ए मोहम्मद पाकिस्तान नियन्त्रित कश्मिरबाट आफ्ना गतिविधि सञ्चालन गर्ने संगठन भएकाले भारतको औला सिधै पाकिस्तान सरकारतर्फ मोडियो । भारतीयहरूको आक्रोश सोसल मिडिया ‘ट्वीटर’ र ‘फेसबुक’मा मा देखियो । बलिउडदेखि लिएर बौद्धिक जमात सबैले उक्त आक्रमणको भत्सर्ना गरे । अमिताभ बच्चनदेखि लिएर अक्षय कुमार, राहुल गान्धीदेखि लिएर केजरिवाल सबैले चर्को आलोचना र खेद प्रकट गरे ।

सेलिब्रेटीको आक्रोशले भारतमा थप आक्रोश पैदा गर्यो । भारतीयले ट्वीटर र फेसबुक प्रयोग गरी पाकिस्तानमाथि हमलाको माग गरे । यो घटनाले सबै भारतीयलाई एकीकृत पार्यो । राष्ट्रवादको यो नयाँ लहरबाट कोही भारतीय अछूत रहन सकेन । अरूबेला शान्तिको वकालत गर्नेहरू पनि पुलवामा घटनाले आक्रोशित हुँदै कडाभन्दा कडा कार्बाही होस् भन्दै ट्वीट र फेसबुक स्टाटस लेख्न थाले । सोसल मिडिया युद्धमय भयो । पाकिस्तानी ट्वीटर एकाउन्टमाथि हमलापछि हमला हुन थाल्यो । ट्वीटर एउटा नयाँ कुरुक्षेत्रको रूपमा परिणत भयो । शहीद भएका जवानलाई श्रद्धाञ्जली दिनेदेखि लिएर पाकिस्तानसँग युद्धको माग सबै गतिविधिको साक्षी भयो ट्वीटर । आफ्नो आक्रोश पोख्ने यो नयाँ माध्यम साँच्चिकै फलदायी हुन थाल्यो । सोसल मिडियाको चर्को मागका बीच भारतीय सरकारले पाकिस्तानलाई प्रदान गरेको एमएफएन निलम्बन गर्यो । उक्त कदमले पाकिस्तानबाट भारत निर्यात हुने सामानमा दुई सय प्रतिशतको कर वृद्धि भयो । त्यस्तै फाट्फलाई पनि पाकिस्तानलाई कालो सूचिमा राख्न माग गर्यो । पाकिस्तानको लण्डन दूतावासमा भारतीयहरूले विरोध प्रदर्शन गरे । भारतको सिने संगठनले कुनै पनि पाकिस्तानी अभिनेता÷अभिनेत्रीलाई भारतीय फिल्म र सिरियलमा काम गर्न प्रतिबन्धित गर्यो । त्यस्तै पाकिस्तानी कैदी सकारुल्लाहको भारतीय जेलमा हत्या भयो । यी सबै घटना सोसल मिडिया बाहिर भए पनि यसमा सोसल मिडियाको प्रत्यक्ष अप्रत्यक्ष असर देखियो ।
ट्वीटर र फेसबुकमा दन्किएको आगो निभ्ने नामै लिएन । यसबीच भारतीय वायु सेनाले फेब्रुअरी २६ को दिन ‘लाइन अफ कन्ट्रोल’ पार गरी पाकिस्तानको बालाकोटमा बम खसाल्यो । भारतीय वायु सेनाले जैस–ए–मोहम्मदको तालिम क्याम्पमा बम खसाली करिब तीन सय जना आतंकवादी मारेको घोषणा गर्यो । उक्त कदमको ट्वीटर फेसबुकमा जयजयकार भयो । सामान्य मानिसदेखि लिएर सेलिब्रेटी, राजनितिज्ञ, बुद्धिजीवि सबैले सोसल मिडिया प्रयोग गरी तारिफ गरे ।

#Indiastrikesback ह्यासट्याग प्रयोग गरी विभिन्न ट्वीट, स्टाटसहरू लेखिए । उक्त ह्यासट्याग केही दिनसम्म ट्रेन्डिङमा रह्यो । बालाकोट हमला सत्य नभएको र भारतले प्रोपोगान्डाका लागि उक्त हमला ‘स्टेज’ गरेको आरोप पाकिस्तानले लगायो । पाकिस्तानी जनताहरू भारतको उक्त कदमको विरोध र सत्य नभएको जिकीर गरे । पाकिस्तानी ट्वीटर प्रयोगकर्ताहरूले बालाकोट हमलामा कसैको मृत्यु नभएको कुरा बारम्बार गरिरहे । यसैबीच फेसबुक ट्वीटरमा अर्को कुरा देखापर्यो । भारतीय वायुसेनाको आक्रमणका विरुद्ध पाकिस्तानी सेनाले गरेको हमलामा भारतीय वायु सेनाको एउटा विमान दुर्घटना भएको र उक्त विमानको पाइलट अभिनन्दन वर्तमान उनीहरूको कब्जामा रहेको घोषणा गर्यो । पाकिस्तानी ट्वीटर जगतमा उक्त विमान दुर्घटनाका फोटो र भिडियो भाइरल भए । भारतीय आक्रमणलाई निस्तेज पारेकामा पाकिस्तानी वायु सेनाको जयजयकार भयो । अभिनन्दन वर्तमान कब्जामा रहेको कुरा बाहिर आएपछि भारतमा फेरि ट्वीटर जगत तात्यो र अभिनन्दनलाइ रिहा गर भन्ने ट्रेन्डिङ सुरु भयो । चर्को आलोचना र अन्तर्राष्ट्रिय दबाबका बीच पाकिस्तान सरकारले अभिनन्दनलाई रिहा गर्ने निर्णय गर्यो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी संसद्मा भारतले बालाकोटमा गरेको आक्रमणको विरोध गरे र शान्तिको हात फैलाउँदै अभिनन्दनलाई रिहा गरे । इमरानको उक्त कदमको चारैतिर प्रंससा भयो । ट्वीटरमा इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ भन्ने आवाज उठ्यो । पाकिस्तान र भारतमा मात्र नभई विदेशमा पनि उक्त कदमको धेरै प्रंशसा भयो । लथालिङ्ग भएको दक्षिण एसियाली भूराजनीतिमा उक्त कदमले केही आशा देखाएको भनी जिकीर गरियो ।
सोसल मिडिया युद्धमय भए पनि एउटा तप्का थियो, जसले युद्धको सधैँ विरोध गरिरह्यो । युद्धले कसैलाई फाइदा गर्दैन नोक्सान मात्र गर्छ भन्दै उक्त तप्काले आफ्नो आवाज कम हुन दिएन । भारतीय मात्र नभई पाकिस्तानीहरूले पनि ट्वीटर प्रयोग गरी सम्भावित युद्ध टाल्न आग्रह गरिरहे । उनीहरूले #SayNoToWar ह्यासट्याग प्रयोग गरी आफ्ना धारणा राखे ।

भारत पाकिस्तान मात्र नभई संसारका अरू कलह र युद्धहरूमा सोसल मिडियाको भूमिका महत्वपूर्ण मानिएको छ । सिरिया युद्धमा सोसल मिडियाको भूमिका महत्वपूर्ण थियो भन्छन् मध्य पूर्वी तनाव विज्ञ क्रिस ज्याम्बेलिस । ‘सिरियाको जस्तो निरङ्कुश सरकार भएको देशमा तथ्यहरू लुकाइनु स्वभाविक थियो । यस्तो परिस्थितिमा काम लाग्यो सोसल मिडिया । सिरियन युद्ध सुरु हुँदाताका सबै पक्षले सोसल मिडिया खुबै प्रयोग गरे ताजा समाचारका लागि । स्थानीय न्युज एजेन्सीहरूमाथि सरकारको पकड भएका कारण पछिल्लो समय पनि समाचारको भरपर्दो स्रोतको रूपमा यसलाई प्रयोग गर्न थालियो । सबै पक्षले आफ्नो उदेश्य पूरा गर्न यसको सही र गलत दुवै प्रयोग गरे । उदाहरणका लागि २०११ को फेब्रुअरीमा अपलोड भएमो युट्युब भिडियो लिन सकिन्छ । उक्त भिडियोमा सयौं लासहरूको थुप्रो देखाइएको थियो । दमसकासको सदरमुकाम दारा भनेर ठोकुवा गरिएको उक्त भिडियोले रिस र आक्रोश पैदा गर्यो । आगोमा घ्यू थप्यो । तर पछि अनुसन्धान गर्दा उक्त भिडियो सिरियाको नभई इराकको रहेछ । भीड उकास्ने र घृणा फैलाउँदै युद्ध लम्ब्याउने रणनीति थियो त्यो ।’
सिरियन युद्धमा कतिको ज्यान पनि बचाएको छ सोसल मिडियाले । टेलिग्राफका अनुसार सिरियन नागरिक अब्दुला–अल–इस्माइल फेसबुककै कारण आफू र आफ्नो परिवारको ज्यान जोगाउन सफल भए । फेसबुकमा हवाइ आक्रमणको पूर्वसूचना पाएका कारण उनले ज्यान जोगाउने मौका पाएका थिए । सिरियाका कैयौ ठाउँमा यस्ता पूर्वसूचना दिने संयन्त्र जडान भएका छन्, जसले हवाइ आक्रमणको चाल जमिनका गाडिएका ‘सेन्सर’ द्वारा पत्ता लगाउँछ र फेसबुक, ट्वीटर, ह्वाट्सयाप, भाइबरको मद्दतमा सूचना फैलाउँछ ।
इजरायल–प्यालेस्टाइन युद्ध पनि सोसल मिडियाको प्रभावबाट अछुतो रहन सकेको छैन । अल जजिराका अनुसार इजरायली सेनाका प्रवक्ता अभिचे अद्रेले गर्ने गरेका ट्वीटहरू यसका उदाहरण हुन् । उनको एउटा यस्तै ट्वीट ‘तिमी कसरी आफ्ना मानिसबिच चिनिन चाहन्छौ ? एउटा सफल र देशको चिनारीको रूपमा ? वा एउटा आतंकवादीको रूपमा ? तिमी मोहमम्द सलाह वा मुस्तफा अल अगा बन्न चाहन्छौ वा आतंकवादी अहमद जरार ?’ मोहम्मद सलाह इजरायली फुटबलर हुन् भने अहमद जरार प्यालेस्टिनी आतंकवादी । ‘प्रवक्ता अभिचेको सोसल मिडिया खाताजस्तै इजरायलमा थुप्रै यस्ता खाता छन्, जसको उद्देश्य प्यालेस्टिनी विरोधी भावना अरबी मानिसहरूमा पोषण गर्नु हो’, प्यालेस्तिनी आलोचक फिदा जानिन भन्छिन् । ‘सोसल मिडियाको प्रयोग गरी इजरायललाई मध्यपूर्वको एक मात्र प्रजातान्त्रिक मुलुकको रूपमा चित्रित गरिन्छ । इजरायल शोषकको रूपमा नभई पीडितको रूपमा देखाइन्छ । अरू त अरू प्रभाव पार्न सकिने प्यालेस्टिनीहरूलाई लोभलालच देखाइ प्यालेस्टाइनका भित्री खबरहरूमा पहुँच बढाउने गर्छन् इजरायलीहरू । यस्ता स्रोतबाट आउने सूचनाहरूका आधारमा प्यालेस्टिनी गतिविधिमाथि निगरानी राख्ने गरिन्छ’, उनि थप्छिन् ।
दक्षिण र उत्तर कोरियाबीचको तनावमा पनि सामाजिक सञ्जालको प्रयोग नभएको होइन । सन् २०१५ यता एउटा रहस्यमयी समूहले उत्तर कोरिया विरोधी ‘मिम’, कार्टुन, इन्फोग्राफिक्स र ब्लगहरू पोस्टिने गरेको छ । उत्तर कोरियमा मानवअधिकार उल्लंघन र नेता किम जोन उनको रवाफविरुद्ध हुने यस्ता व्यंग्यहरू दक्षिण कोरियाको खुफिया संस्थाद्वारा सञ्चालित भएको भनिन्छ । दक्षिण कोरियाले उक्त आरोपको खण्डन गरे पनि जानकारहरू दक्षिण कोरियाकै हात रहेको बताउँछन् । यस्तै अभियानको अर्को उदाहरण हो, किम जोन उनविरुद्ध गरिएको ‘अनलाइन पेटिसन’ । उक्त पेटिसनहरूमा उत्तर कोरियालाई ‘स्टेट अफ टेरर’ घोषणा गर्ने र रसियालाई उत्तर कोरियासँगको व्यापारिक सम्बन्ध तोड्न आग्रह गरिएको थियो ।
यमन गृहयुद्धमा साउदी अरेबियाले गरेको युद्ध अपराधका विरुद्ध एउटा अभियान नै चलेको थियो । यमन, इजिप्ट, प्यालेस्टाइन, इराक र ट्युनेसियाका सामाजिक सञ्जालकर्ताहरू मिलेर साउदी अरेबियामा उत्पादित कुनै पनि सामान प्रयोग नगर्ने अभियान चलेको थियो । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युटुबका माध्यमबाट चलाइएको यो विरोधशैली सफल पनि भयो । साउदी अरेबियाले नेतृत्व गरेको यमन हमलामा करिब ५६ हजार यमनीहरूको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५