काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित आठ वटा वामपन्थी घटकहरूले एकीकृत पार्टी गठन गर्न औपचारिक सहमति गरेका छन्। आइतबार राजधानीमा बसेको बैठकपछि एकतासम्बन्धी सहमति–पत्रमा सबै दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेका हुन्।
पार्टीको नाम अन्तिम टुंगो नलागे पनि आगामी चुनावका लागि पाँचकुने तारा चुनाव चिन्ह प्रयोग गर्ने सहमति भइसकेको छ। कात्तिक १९ गते एकता घोषणा गर्ने र त्यसपछि ६ महिनाभित्र राष्ट्रिय एकता महाधिवेशन सञ्चालन गर्ने उल्लेख सहमति–पत्रमा समावेश छ।
नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेलिनवाद रहनेछ। महाधिवेशन सम्पन्न नभएसम्म संयोजक र सह–संयोजक मोडेलमा पार्टी सञ्चालन गरिने प्रावधान राखिएको छ।
सहमति–पत्रमा हस्ताक्षर गर्ने दलहरूमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) रहेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०८२