काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले मंसिर २७ गते काठमाडौंमा आयोजना गर्न लागिएको जनसभा नेपालकै इतिहासमा सबैभन्दा विशाल हुने दाबी गरेका छन्। प्रेस चौतारी नेपालले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले हाल प्रमुख दलप्रति जनता विमुख भइसके भन्ने गलत धारणालाई चिर्नै जनसभा गर्न लागेको स्पष्ट पारे।
उनका अनुसार, केही समययता ‘जनता अब ठूला दलसँग छैनन्’ भन्ने भ्रम सिर्जना गर्ने प्रयास हुँदै आएको छ, तर वास्तविकता त्यसको विपरीत रहेको प्रमाणित गर्न एमालेले देशव्यापी आन्दोलन तथा जनसम्पर्क कार्यक्रमको श्रृंखला थालेको छ।
सचिवालय बैठकका निर्णयअनुरूप एमालेले कात्तिक २२ गते सबै वडामा जनभेला, २५ गते पालिकास्तरमा जन र्याली, २९ गते जिल्लास्तरमा जनसभा र मंसिर ६ गते उपत्यकास्तरीय र्याली आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ।
मंसिर २७ को काठमाडौंकेन्द्रित मुख्य जनसभाबारे पोखरेलले भने, “त्यो दिन हामी इतिहासमै सबैभन्दा ठूलो जनसभा गर्छौं। जनता कसको साथमा छन्, स्पष्ट देखिनेछ। हिंसा, अराजकता र लुटपाटको राजनीतिलाई जनताले कहिल्यै समर्थन गर्दैनन्।”
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०८२