काठमाडौँ । प्रहरी मुख्यालयले भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा काठमाडौंमा खटिएका तत्कालीन प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछाड्न निर्देश गरेको छ।
जेन–जी आन्दोलनमा भएको दमन, आगजनी र मानवीय क्षतिको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले कुनै पनि बेला उपस्थित गराउनुपर्ने आवश्यकता परेको कारण प्रहरी मुख्यालयले यस्तो व्यवस्था मिलाउन उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेखेको हो।
आयोगले बढी क्षति भएका क्षेत्रमा जिम्मेवारी सम्हालेका इञ्चार्जहरूलाई तत्काल उपस्थित गराउनुपर्ने उल्लेख गर्दै आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाएको थियो। सोही पत्रका आधारमा मुख्यालयले उपस्थिति सुनिश्चित गर्न निर्देशन जारी गरिएको बताइएको छ।
आयोगले आइतबारदेखि सोधपुछ प्रक्रिया सुरु गरिसकेको छ। पहिलो दिन नख्खु कारागारका जेलरसँग बयान लिइएको आयोगले जनाएको छ। भदौ २३ गते गोली प्रहारका घटनामा २२ जनाको ज्यान गएको थियो।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०८२