काठमाडौं । नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय पुनः अड्किएको छ। अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा यसबारे कुनै निष्कर्ष निकाल्न नचाहेपछि विवाद झन् चर्किने संकेत देखिएको छ।
ओलीको गुन्डुस्थित निवासमा बसेको आजको सचिवालय बैठकमा ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले विद्या भण्डारीको सदस्यता नवीकरणबारे पुनर्विचार गर्न माग उठाएका थिए। तर ओलीले बैठकमा तत्काल निर्णय गर्न नमिल्ने भन्दै विषयलाई फेरि पछाडि सारे।
असोजको अन्त्यमा जावलाखेलमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले सचिवालयबाट सदस्यतासम्बन्धी अन्तिम निर्णय हुने आश्वासन दिएका थिए। उनले भण्डारीसँग प्रत्यक्ष संवाद गरेर आवश्यक निर्णय लिने प्रतिबद्धता पनि व्यक्त गरेका थिए। तर आज फेरि बैठकमा आएको विषय उनले पन्छाइदिए।
सचिवालयका पाँचजना पदाधिकारीले सदस्यता नवीकरण नगर्ने अघिल्लो निर्णय उल्ट्याउन जोड दिँदै आए पनि ओलीले “अहिले निर्णय नगरौँ, अझै कुरा गर्नुपर्छ” भन्ने प्रतिक्रिया मात्र दिए। अष्टलक्ष्मी शाक्यले समेत विषय टुंग्याउन आग्रह गरेकी थिइन्।
विद्या भण्डारीको सदस्यता मुद्दा स्थगित गर्दै ओलीले भने पार्टीको एघारौं महाधिवेशन पोखराबाट काठमाडौं सार्ने प्रस्ताव भने बैठकमा राखेका छन्।
प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०८२