–रविन्द्र दुवाडी
देशको बढ्दो राजनैतिक ध्रुवीकरणले हरेक क्षेत्र विछिप्त रहदै आएको छ । राष्ट्रको जुनसुकै काल खण्ड र भौगोलिक आवरणहरुमा यसले दह्रै जग बसालिसकेको यथार्थ सर्वविदितै छ । विकास निर्माणको कार्य होस वा कुनै सार्वजनिक पदहरुको नियुक्ति, हरेक पक्षमा कुनै पैतृक सम्पत्ति जसरी अंशवण्डा गर्ने परिपाटी नेपालको संविधानले नै एकिन गरे जस्तो भैसकेको तितो यथार्थ हामी माझ झाङ्गिरहेको छ । यसैको प्रतिफल स्वरुप मानिसहरू क्षमतामा भन्दा पनि आशे प्रवृतिको बढी विश्वास गरिरहेको तथ्य सिद्ध प्राय छ ।
जस्तो सरसंगतमा बसियो सोही अनुरुपको व्यक्तित्व विकास हुने गर्दछ । त्यसैले समयको मूल्यलाई बुझेर राम्रो आचरण निर्माण गर्नुपर्ने बेला भइसकेको छ । हामीमा राम्रो या नराम्रो छुट्टाउने क्षमता विकास छ तर त्यसलाई हामी व्यवहार उपयोगी बनाउन सकिरहेका छैनौँ । कुनै राजनैतिक मुलधारमा लागेका अग्रज व्यक्तिहरुले युवाहरूलाई प्रयोगको दृष्टिले हेरिरहेको र युवाहरू पनि केही भइपोहाल्छ कि भन्ने आशे भावले ग्रस्त बनिरहेको यथार्थ सर्वविदितै छ ।
हुन त दर्शनले मात्र देश चल्दैन, त्यसको लागि दृढ इच्छाशक्ति र संकल्प आवश्यक हुन्छ । राष्ट्र निर्माणको मेरुदण्डको रुपमा रहेका युवाहरूले आफ्नो विवेक प्रयोग गर्नुपर्ने अत्यन्तै संवेदनशिल अवस्था आइपुगेको छ । हामीले आफू राष्ट्रको संवाहक हौँ र राष्ट्रको महत्वपूर्ण हिस्सा ओगट्ने युवा जमातले नवीन सोच, जगरुक प्रवृत्ति साथै पुराना सँकुचित सोच, भ्रष्ट मानसिकता लगायत कुकार्यहरुको दागबत्ती दिन तयार नहुँदासम्म राष्ट्रले काँचुली फेर्ने कुराको दुरदराजसम्म पनि कल्पना गर्न सकिन्न ।
देशले लामो समयको द्वन्द्व र संक्रमणकाल भोगिसकेको छ । राष्ट्रले नयाँ संविधान प्राप्त त गर्यो त्यसको कार्यन्वयन आफ्नो ठाउँमा छ भने युवाहरुको धारिलो सहयोग साथ र वास्तविक निर्णायक भूमिका सदैव आवश्यक छ । नयाँ वर्षको पहिलो महिनाको मसान्तको शुभसाइतको दिन स्थानीय तहको निर्वाचन हुन गइरहेको छ र राष्ट्रले त्यसको लागि उल्लेख्य बजेट समेत विनियोजन गरिसकेको अवस्था छ । हाम्रो निर्वाचन प्रणाली, विश्लेषण क्षमता, निर्वाचन आचारसंहिता सबै हामिलाई उत्कृष्ट लाग्छ त्यो स्वभाविक पनि हो, किनकी हामीसँग त्यो भन्दा माथि उठ्ने न सहास छ न अहिले को प्रक्रिया भन्दाको उत्कृष्टता नै ।
हाम्रो परिवेश, प्रणाली, विचार, र व्यवहार सबै प्रयोगात्मक राजनैतिक आवरणको खोलले पूरा ढाकिएको छ । साथै अर्को मननयोग्य कुरा के छ भने त्यो आवरण दशकौँदेखि प्रदुषित रहदै आएको छ, तसर्थ यो गम्भीर परिस्थितिमा युवाहरूले स्थानीय तथा राष्ट्रिय रूपमा खेल्ने भूमिका राजनैतिक सुदृढिकरणका लागि एउटा महत्वपूर्ण कालखण्ड बन्न सक्छ । हामीले धेरै निर्वाचनहरुलाई जानेर वा नजानेर परीक्षणको रुपमा हेरिसकेका छौँ र त्यसको सोही अनुसारको नतिजा पनि पाईसकेका छौँ । अझै पनि हामी विवेक प्रयोग गर्न तयार छैनौ । अबको युवा अभियान एक हिसाबको दृढ, नबिक्ने, निस्वार्थ, राष्ट्रप्रेमी हुन आवश्यक छ । वेरोजगार शिक्षित एवं अशिक्षित युवाहरु राजनैतिक आडको आर्थिक प्रलोभनमा परेर राष्ट्रलाई पछाडि धकेल्नु भन्दा निष्पक्षबसी दुष्परिणम दिने प्रक्रियामा सहभागिता नै नजनाउनु फलदयी हुन्छ । हाम्रो अभियान सम्पूर्ण नेपालीहरुलाई एकीकृत गर्ने हिसाबको हुन जरुरी छ त्यसको लागि हामीले आफुमा भएको दक्षता, क्षमता, देशप्रेम र विवेक प्रयोग गर्नुपर्दछ भने देशले होनाहर खम्बाहरुमाथि न्याय देखाउन जरुरी छ । हामी अब कसैसँग पनि नबिक्ने हुनु आवश्यक छ ।
वेरोजगारको बिल्ला भिराएर कस्ता मन्छेहरुले तपाईंहरुको क्षमता र योग्यतालाई कुन हिसाबले मोलिमोलाउ गर्छन भन्ने कुराको मुल्यांकन गर्न सक्नुपर्दछ । शुरूवात जहिले पनि अप्ठयारो नै हुन्छ, त्यसैले अब सम्पुर्ण युवाहरुले आफ्नो हिसाबको व्यक्तिगत स्वर्थ त्यग गरी आ–आफ्नो व्यक्तिगत अभियानबाट राष्ट्रलाई समुन्न्त बनाउने कार्यको पहलकदमी लिन जरुरी छ ।
विरोजगार हामी होइनौं यहाँका पाखण्डी मानसिकता भकारीहरु हुन जुन तोडिएपछि मात्रै देशको काँचुची फेरिन सक्छ । त्यसपछि देश र हाम्रो स्थान र सान उच्च हुन सक्छ साथै हामी उक्त सम्भावनाहरुका बीचमा समेत छौँ । त्यसैले “अबको पालो स्वच्छ युवाहरुको हात भ्रष्टहरुको कठालो “भन्न र प्रायोगिक रुपमा गर्न अग्रसर हुन पर्दछ साथसाथै आशे र विकाउ प्रवृत्ति त्यग गरी देशलाई सकारात्मक रुपमा अघि बढाउन एक ढिक्का हुन आवश्यक छ ।
–कालिका–७, जुटपानी, चितवन
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७३