काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का पूर्व उपमहासचिव जनार्दन शर्माले पार्टी त्यागेर ‘प्रगतिशील अभियान, नेपाल’ नामक नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शर्माले माओवादी नेतृत्वसँग लामो समयदेखि चल्दै आएको असहमति र वैचारिक द्वन्द्वका कारण आफूहरू नयाँ बाटोमा हिँड्न बाध्य भएको बताए। उनका अनुसार माओवादी नेतृत्वले दस वर्षे जनयुद्ध र पछिल्लो जेन–जी आन्दोलनका माग र भावनालाई बेवास्ता गरेको हुँदा आफूहरूले एकता प्रक्रियाबाट अलग हुने निर्णय गरेका हुन्।
शर्मासँगै पूर्व सचिव राम कार्की, पूर्व स्थायी समिति सदस्य अञ्जना विशुंखेलगायतका नेताहरू पनि नयाँ अभियानमा सहभागी भएका छन्।
शर्माले विगतका कमजोरीहरू स्वीकार्दै अब सुधारिएको रूपले वाम र प्रगतिशील शक्तिलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “विगतका गल्तीहरू आत्मसात् गर्दै हामी नयाँ अभियानको सुरुवात गरेका छौं। हाम्रो लक्ष्य विभाजित वाम र प्रगतिशील शक्तिलाई एउटै समाजवादी आन्दोलनमा जोड्नु हो।”
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०८२