काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र सहमतिको वातावरण बनाउन महाधिवेशन पुस महिनामै गर्ने प्रस्ताव राखेका छन्। उनले आफू र अर्का महामन्त्रीले उम्मेदवार हुन नपाउने शर्त भए पनि त्यसलाई स्वीकार गर्न तयार रहेको बताएका छन्।
मंगलबारदेखि पुनः सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले पुस १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्न सकिने मौखिक प्रस्ताव अघि सारे। उनका अनुसार पार्टीलाई गतिशील बनाउन र संगठनलाई नयाँ उत्साह दिन महाधिवेशन आवश्यक छ।
थापाले भने, “यदि यो पटक हामी दुईजनाले उम्मेदवार बन्न पाउँदैनौं भन्ने शर्तमा पनि महाधिवेशनतिर लैजान्छ भने हामी तयार छौं। यस्तो वाचा गरेरै भए पनि पार्टीको गाँठो खोलौं।”
उनले थपे, “यदि कुनै कारणले पुसमा नियमित महाधिवेशन गर्न सकिँदैन भने त्यसको विकल्प विशेष महाधिवेशन मात्र हो। विधानले त्यसको स्पष्ट व्यवस्था गरेको छ।”
थापाको भनाइमा, पार्टीको गति र निर्णय प्रक्रियालाई तीव्र बनाउने हो भने पुसमै नियमित महाधिवेशन सम्भव छ र त्यसका लागि सबै नेताहरूले तयारी सुरु गर्नुपर्ने आवश्यकता छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०८२