काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र रहेका सबै एजेण्डा र विचारहरुलाई सहमतिका माध्यमबाट टुंगोमा पुर्याउने प्रयास भइरहेको बताएका छन्।
मंगलबारदेखि पुनः सुरु भएको केन्द्रीय समिति बैठकको प्रारम्भमा बोल्दै खड्काले, कार्यसम्पादन बैठकमा विभिन्न विषयमा अनौपचारिक छलफलहरू भइरहेको जानकारी दिए। उनका अनुसार सहमतिको वातावरण बनाउनका लागि निरन्तर संवाद र छलफल जारी राखिएको छ।
‘सबै एजेण्डालाई सहमतिमा टुंग्याउने गरी वातावरण बनाउन प्रयास भइरहेको छ,’ कार्यवाहक सभापति खड्काले भने। उनले सहमतिका लागि आवश्यक परे अनौपचारिक बैठकहरू निरन्तर बस्ने पनि बताए।
हाल नेपाली कांग्रेसभित्र आसन्न महाधिवेशन चुनाव अघि गर्ने वा चुनावपछि गर्ने भन्ने विषयमा अन्तिम सहमति हुन सकेको छैन। गत शनिबारदेखि रोकिएको केन्द्रीय समिति बैठक मंगलबारदेखि पुनः सुरु भएको हो।
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०८२