भरत अधिकारी ।
नेपाली समाजको एक मुख्य चाड हो तिहार । तिहारमा दिदीबहिनीहरुले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ सयपत्री, मखमली लगायत फूलहरुको रंगीचंगी माला र पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिने प्रचलन रहेको छ ।
दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक एवम् सामाजिक परम्परा छ ।
यतिमात्र नभई तिहारको अर्काे बिर्सनै नसकिने एक पाटो हो, देउसीभैलो । तिहारमा टीका र मालामा सजिएर आफ्ना संगीसाथीहरु जम्मा भई घरघरमा गएर देउसीभैलो खेल्ने गरिन्छ । देउसीभैलोमा एकजनाले सुरुमा नेतृत्व गर्दै भट्याउने र अरुले ‘देउसी रे’ भन्दै खेल्ने गरिन्छ ।
यसरी भट्याउँदै लोकभाकामा खेलिने देउसीको आफ्नै शैली र महत्व रहँदै आएको छ । देउसीमा भट्याएर खेल्नुको अलावा बिचबिचमा तिहार सम्बन्धित गीतहरु पनि गाएर नाच्ने प्रचलन छ । नाच्नका लागि जोश भर्न गीतका टुक्काहरू जोड्दै बाजागाजाका साथमा उल्लासमय ढंगले नाचगान गरिन्छ । यसरी देउसी खेलेपछि घरबेटीले देउसी टोलीलाई गच्छेअनुसारको दान दिने चलन छ ।
देउसीमा दिइने दान गच्छेअनुसारको स्वेच्छिक दान भएकाले यसमा करकाप गरिनु हुँदैन । तर पछिल्लो समय देउसीमा केही विकृतिहरु पनि भित्रिएका छन् । देउसीको प्रतिष्ठा कायम राखिराख्न स्वेच्छिक दानलाई सहज रुपले ग्रहण गर्न सक्ने हुनुपर्दछ ।
यस्तै, देउसीलाई प्रभावकारी बनाउने विभिन्न पाटाहरुमा मौलिक पोशाक, लोकबाजा, महिला–पुरुष सहभागिता, श्लील र ग्राह्य गीत, शिष्टता आदिमा ध्यान दिन आवश्यक छ । तर, आधुनिक समाजमा देउसीमा देखिएका विकृतिहरुले यसको मौलिकतामा आँच पुर्याइरहेको पाइन्छ । भड्किलो पोशाकका साथमा होहल्ला गर्दै डिस्को नाच्ने र घरवेटीसँग बलजफ्ती पैसा असुल्ने प्रवृत्ति बढ्न थालेको देखिन्छ । देउसी खेल्दा मादक पदार्थको सेवनले विभिन्न दुर्घटनाहरु पनि निम्त्याउन सक्दछन् ।
तसर्थ, तिहारमा देउसीको मौलिकता बचाउँदै यसको प्रतिष्ठालाई संरक्षित गर्नका लागि सबैतिरबाट पहल हुन जरुरी छ । खासगरि सामाजिक सद्भाव कायम गर्नेतर्फ सबैको ध्यान जान आवश्यक छ । राति अबेरसम्म देउसी नखेल्ने, ठूलो आवाजमा गीत बजाउन नहुने, घरधनीसँग बलजफ्ती पैसा माग्न नहुने, पुरै बाटो ओगटेर देउसीभैलो नखेल्ने र साँस्कृतिक पक्षको अवमूल्यन गर्ने खालका नृत्य र गीत प्रस्तुत गर्न नपाइने तर्फ सजग हुनुपर्दछ ।
यसका साथै तिहारमा जुवातासलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने, पटका पड्काउन निषेधित गर्ने, मदिराजन्य पदार्थको बेचविखनमा नियन्त्रण गर्ने आदितर्फ पनि सम्बन्धित सरोकारवालाहरुले चासो राख्न आवश्यक देखिन्छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५